रथि सिग्देलको उमेर विवादबारे रक्षामन्त्री र प्रधान सेनापतिले जवाफ दिनुपर्छ : अध्यक्ष साह

असार १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
रथि सिग्देलको उमेर विवादबारे रक्षामन्त्री र प्रधान सेनापतिले जवाफ दिनुपर्छ : अध्यक्ष साह

काठमाडौं । सांसद प्रभु साहले नेपाली सेनाका रथि अशोकराज सिग्देलको उमेर विवादको सम्बन्धमा प्रधान सेनापति प्रभुराम शर्मासँग जवाफ माग गर्नुभएको छ ।

शुक्रबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै अध्यक्ष साहले नेपाली सेनाको आगामी नेतृत्वको रूपमा लिइएका रथि सिग्देलको उमेर विवाद रहेको भन्दै यस सम्बन्धमा प्रधानसेनापतिको जवाफ माग गर्नुभएको हो । उहाँले नेपाली सेनाको छवि निस्कलंकित, निर्विवादित र उदाहरणीय हुनुपर्ने भएपनि रथिको उमेर विवादले नेपाली सेनाको छविमाथि आँच पुर्‍याएको बताउनु भयो । उहाँले रथिमाथि प्रश्न उठ्दा प्रधानसेनापति र रक्षामन्त्री चुप लागेर बस्न नमिल्ने बताउनु भयो ।

‘हामी जान्न चाहन्छौँ । माननीय रक्षामन्त्रीको जवाफ चाहन्छौँ । यसरी देशको सम्मानित संस्थाको नेतृत्वमाथि यसरी प्रश्न उठिराख्दा तपाई चुप लाग्न मिल्दैन,’ उहाँले भन्नुभयो, ‘समाचारको कुरा सुन्ने हो भने प्रधानसेनापतिले अशोकराज सिग्देलको बारेमा संसदीय समितिको सुनुवाइमा उहाँले जो कुरा बोलिराख्नु भएको थियो आज पत्रपत्रिकाले पुरै प्रमाणसहित खण्डन गरिराख्दा सेनापतिजीले केही बोल्नुपर्छ कि पर्दैन ? सेनापतिको नैतिक जिम्मेवारी हुनुपर्छ कि पर्दैन ?’

उहाँले रथि सिग्देलको उमेर विवादबारे स्पष्ट कुरा आउनुपर्ने माग राख्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.