सिधाकुरा डटकमका सञ्चालकसहित ३ जनाविरुद्ध फौजदारी कसुरमा मुद्दा दायर

असार १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
सिधाकुरा डटकमका सञ्चालकसहित ३ जनाविरुद्ध फौजदारी कसुरमा मुद्दा दायर

काठमाडौं । सिधाकुरा डटकमका सञ्चालकसहित तीन जनाविरुद्ध फौजदारी कसुरमा मुद्दा दायर भएको छ ।

सर्वोच्च अदालतका तत्कालीन वरिष्ठ न्यायाधीश आनन्दमोहन भट्टराईसहितका व्यक्तिहरुले अख्तियारको स्टिङ अप्रेसनसम्बन्धी मुद्दा मिलाउन घुस लिएको भन्दै बनाइएको अडियोमाथि सिधाकुरा डटकम नामको अनलाइन तथा युट्युबले ‘डार्क फाइल’ नाममा प्रसारण गरेको थियो ।

उक्त अडियो फेक भएको भन्दै दायर भएको मुद्दामा सर्वोच्च अदालतले फौजदारी कसुरमा पनि अनुसन्धान गर्न आदेश दिएको थियो । सोही आदेशअनुसार प्रहरीले अनुसन्धान गरेर सिधाकुराका सञ्चालक युवराज कँडेल, कार्यकारी सम्पादक नवीन ढुंगाना र नक्कली अडियो बनाएको आरोप लागेका राजकुमार तिमल्सिनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले तीनै जनालाई प्रतिवादी बनाएको छ । सिधाकुराले गत वैशाख १४ गते ‘डार्क फाइल’ नाममा वरिष्ठ अधिवक्ता, न्यायाधीश, तथा पत्रकार र सञ्चारउद्यमीको नाम जोडेर तयार पारिएको अडियो प्रसारण गरेको थियो । सोही मुद्दामा अवहेलनाको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.