सूर्यदर्शन सहकारीले बचतकर्तालाई धरधरी रुवायो, परिवारमा बेमेल

असार १०, २०८१ |भुपाल गुरुङ
सूर्यदर्शन सहकारीले बचतकर्तालाई धरधरी रुवायो, परिवारमा बेमेल

पोखरा । पोखराको सूर्यदर्शन सहकारीका बचतकर्ताले रकम फिर्ताको माग गर्दै आन्दोलन थालेको दुई वर्ष बितिसकेको छ । यसबीचमा उनीहरुले गण्डकी प्रदेश राजधानी पोखरा र संघीय राजधानी काठमाडौंमा पनि प्रदर्शन गरे । तर उनीहरुको बचत रकम अझै फिर्ता हुने छाँटकाँट देखिँदैन ।

कतिपय बचतकर्ताको यही बीचमा मृत्यु भएको छ भने कतिपय जटिल रोगसँग लड्दै छन् । सहकारीकै करण केही बचतकर्ताको परिवारमा बेमेल बढेको छ भने कतिपयलाई गुजारा चलाउनै कठिन भएको छ ।

पोखरा ८, नागढुंगाकी ४६ वर्षीया सुशाना खत्रीले सडकमा चटपटे र पोलेको मकै बिक्री गरेर कमाएको साढे दुई लाख रुपैयाँ सूर्य दर्शन सहकारीमा जम्मा गर्नुभयो । घामपानी नभनी दुःख गरी बचत गरेको पैसा सहकारीले फिर्ता नगरेपछि उहाँ निकै तनावमा हुनुहुन्छ । मुटुको दुवै भल्भ फेर्नुभएकी सुशानालाई थप उपचार गर्न र नियमित औषधि खान पनि समस्या भएको छ ।

सूर्यदर्शन सहकारीका अर्का बचतकर्ता घारीपाटनका वीरबहादुर तामाङको निधन भइसकेको छ । डोको बोकेर गाउँ-गाउँ डुल्दै चुरा बेचेर आर्जन गरेको दुई-चार पैसा जम्मा गरेका पोखरा १३, मियाँपाटनका ६५ वर्षीय हाजी अली मोहम्मद मस्तिष्काघात भएर बिछ्यौनामै लडेको वर्षौं बित्यो । अहिले सूर्यदर्शन सहकारीका १८ हजार सात सय बचतकर्तामध्ये अधिकांशको अवस्था यस्तै छ । पीडितहरु कहिले पोखरा त कहिले काठमाडौं पुगेर आफ्नो बचत रकम फिर्ताको माग गर्दै आन्दोलन गरिरहेका छन् ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसमेत यो सहकारीको रकम अपलचनमा जोडिनुभएको छ । पीडितले गत फागुन २२ गते नै लामिछानेविरुद्ध उजुरी दर्ता गराए पनि कास्की प्रहरीले भने लामिछानेको संलग्नता नरहेको भन्दै पत्र पठाएको छ । यसले पीडितहरुलाई झनै पीडा थपेको सूर्यदर्शन बचत पीडित संघर्ष समिति पोखराका संयोजक किरण श्रेष्ठ बताउनुहुन्छ ।

पोखरा महानगरपालिकाको पहलमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, सहकारी विज्ञ र पीडितका प्रतिनिधि सम्मिलित टोलीले तयार पारेको तीन हजार चार सय १९ पृष्ठको अनुसन्धान प्रतिवेदन अहिले त्यसै थन्किएको छ । सूर्यदर्शनसहित अन्य २० वटा समस्याग्रस्त सहकारीको छानबिन गर्न बनेको संसदीय समितिको काम पनि सुस्त देखिएको छ ।

यसअघिका छानबिन प्रतिवेदनको कार्यान्वयन नहुनु, अदालतमा मुद्दा फैसला गर्न ढिलाइ हुनु र जीबी राईलगायत १४ जना फरार अभियुक्तलाई पक्राउ गर्न नसक्दा बचतकर्ताहरुको अवस्था दिन प्रतिदिन जटिल बन्दै गएको छ भने रकम दुरुपयोग गर्नेले उन्मुक्ति पाइरहेका छन् ।

हेर्नुहोस् भुपाल गुरुङका थप स्टोरी ।


Image

भुपाल गुरुङ

गुरुङ कान्तिपुर टेलिभिजनका कास्की संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement