तिब्बतमा पक्राउ परेका भनिएका गोरखाका दुई युवाको खोजी गरिदिन प्रहरीमा निवेदन

असार ९, २०८१ |भीमलाल श्रेष्ठ
तिब्बतमा पक्राउ परेका भनिएका गोरखाका दुई युवाको खोजी गरिदिन प्रहरीमा निवेदन

गोरखा । तिब्बतमा पक्राउ परेका भनिएका गोरखाको चुमनुब्री गाउँपालिकाका दुई जना युवाका आफन्तले खोजतलासका लागि प्रहरीमा निवेदन दिएका छन् ।

गत वैशाख १७ गते भाज्यो पामा भन्ने ठाउँमा यार्सागुम्बा टिप्न गएका चुमनुब्री- ७ छुलेका २६ वर्षका कर्मा छेटेन लामा र लामागाउँका २९ वर्षका कर्मा राप्चे लामा घर फर्किएका छैनन् । गत जेठ ३ गते निवर्तमान वडाध्यक्षलाई तिब्बतको शिगाचेको प्रहरीले फोन गरेर उनीहरूलाई स्याहबाट पक्राउ गरेको जानकारी दिएपछि मात्र आफूले थाहा पाएको भन्दै कर्मा छेटेन लामाका श्रीमती ढोउर लामाले जेठ ६ गने छेकम्पार प्रहरी चौकीमा निवेदन दिनुभएको छ ।

सम्पर्कमा नरहेका आफ्ना श्रीमान् कहाँ र कस्तो अवस्था रहेको छ थाह पाउन नसकेकोले खोजतलास गरिपाऊँ भनी आफन्तले प्रहरीमा निवेदन दिएका हुन् ।

निवेदन प्राप्त भए लगत्तै खोजतलास तथा अन्य प्रक्रियाका लागि प्रहरी प्रधान कार्यालयमा अनुरोध गरी पत्र पठाएको गोरखाका प्रहरी उपरीक्षक वासुदेव पाठकले जानकारी दिनुभयो ।

गोरखाको चुमनुब्री गाउँपालिकाको सिमाना चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको छ ।


Image

भीमलाल श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका गोरखा संवाददाता हुन् ।