अछाम । अछाममा छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छन् । मंगलबार बिहान बेहोस अवस्थामा भेटिएकी १६ वर्षीया किशोरीमाथि बलात्कार भएको खुलेको अछाम प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी सन्तोष पाठकले किशोरीलाई छाउगोठमा बेहोस अवस्थामा भेटेपछि उद्दार गरेर अस्पताल लगिएको बताउनुभयो ।
पीडित किशोरीलाई मंगलबार दिउँसो करिब साढे १२ बजेतिर बेहोस अवस्थामा जिल्ला अस्पताल पुर्याइएको थियो ।
जिल्ला अस्पताल अछामकी सूचना अधिकारी गंगा बुढा मगका अनुसार अस्पताल ल्याएको ३ घण्टापछि मात्रै पीडितलाई होस आएको हो । उहाँका अनुसार इमर्जेन्सी वार्डमा होस खुलेको धेरैबेरसम्म किशोरी बोल्न सक्ने अवस्थामा थिइनन् । उपचारपछि किशोरीले आफूमाथि जबरजस्ती करणी भएको बताएकी थिइन् ।
उनको बयानका आधारमा जबरजस्ती करणी गरेको आरोपमा १७ वर्षीय मामा नाता पर्ने किशोरलाई पक्राउ गरिएको डीएसपी पाठकले बताउनुभयो ।
पक्राउ परेका किशोर नातेदार नै हुन् । उनीहरू एउटै विद्यालयमा अध्ययन गर्छन् । छाउगोठमा बस्दा बलात्कृत भएर, निसासिएर, सर्पले टोकेर अछाममा मात्रै १७ वर्षको अवधीमा १४ जना महिला तथा किशोरीको मृत्यु भएको छ ।