प्रधानमन्त्रीले सम्बोधन सुरु गर्नै थाल्दा चुरेपीडितहरुले नारा लगाएपछि...

काठमाडौंमा माग सुनुवाइ नभएपछि सिरहामा प्रधानमन्त्रीको कार्यक्रममै गएर चुरे अभियन्ताको विरोध
असार २, २०८१ |विनय आजाद
प्रधानमन्त्रीले सम्बोधन सुरु गर्नै थाल्दा चुरेपीडितहरुले नारा लगाएपछि...

सिरहा । नदीजन्य वस्तुको अवैध दोहन रोक्न र चुरे क्षेत्र संरक्षणको माग गर्दै चुरेपीडितहरु काठमाडौंमै आएर प्रदर्शन गर्दै आएका छन् । चुरे संरक्षणको नाममा भएको भ्रष्टाचारको छानबिन गर्नुपर्ने माग पनि उनीहरुको छ । तर सरकारले सुनुवाइ नगरेपछि चुरे संरक्षण दिवसका दिन आज (आइतबार) सिरहामा प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी कार्यक्रममै पुगेर विरोध गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल आइतबार सिरहाको मिर्चैया नगरपालिका ७ स्थित हिल पार्क क्षेत्रमा पर्ने चुरेको सिरानमा चुरे संरक्षण दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुनुभयो । प्रधानमन्त्री दाहालले यस क्षेत्रमा वृक्षरोपण पनि गर्नुभयो । त्यसपछि सुरु भएको औपचारिक कार्यक्रममा जब प्रधानमन्त्रीले सम्बोधन गर्न सुरु गर्नुभयो तर एउटा समूहले नाराबाजी गर्न थाल्यो ।

चुरे संरक्षणको माग गर्दै काठमाडौंमा आन्दोलनरत व्यक्तिहरु नै प्रधानमन्त्री सिरहा जाने थाहा पाएपछि त्यहीँ पुगेर नाराबाजी गरेका हुन् । काठमाडौंमा लगातार धर्ना दिँदा पनि बेवास्ता गरेकाले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्नुपरेको उनीहरुको भनाइ छ ।

‘सरकारले जनताको आँखामा धुलो छरेर उत्सव मनायो । यो हामीलाई नमिठो लाग्यो । उत्सव नै मनाउनु थियो भने हामी २५ दिन पैदलै हिँडेर काठमाडौं गई माइतीघरमा आन्दोलन गरिरहेका छौं । त्यहाँ गएर हाम्रो कुरा बुझेर मनाउँदा हुन्थ्यो नि । उहाँ त प्रधानमन्त्री हुनुहुन्छ,’ लहानकी मालती सदा भन्नुहुन्छ । यस्तै लहानकै सोनियादेवी सदाले आफूहरुले नारा जुलुस गरेर, ज्ञापनपत्र बुझाएर थाकिसकेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘तर कुनै सुनुवाइ भएन ।’

आइतबार सिरहामा चुरे संरक्षण दिवस मनाइरहँदा पनि प्रधानमन्त्री दाहालले आन्दोलनरत पक्षका मागबारे कुनै सम्बोधन गर्नुभएन । उहाँले चुरे संरक्षण गर्न सक्रिय भएर लागेको र सबैले त्यसमा सहयोग गर्नुपर्ने बताउनुभयो ।

तराई-मधेशको जीवनसँग जोडिएको चुरे क्षेत्रको विनाश बढ्दो छ । यो क्षेत्रको संरक्षण गर्न सरकारको मात्र होइन, सरकारको पनि उत्तिकै भूमिका हुन्छ ।


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।