अर्खाखाँची । प्रकृतिको कुचिकार मानिने गिद्धका ३ प्रजातिले अर्घाखाँचीको मालारानी गाउँपालिका घेराभिरमा बचेरा हुर्काइरहेका छन् । माउ गिद्धले बचेरालाई उडाउने र आङ तान्ने कला दिइरहेका छन् ।
पखेटा फिँजाउन सिकाइरहेका छन् । तीन महिनाको कठिन मिहिनेतका क्रममा अहिले गिद्धहरु आफ्ना बचेरालाई विस्तारै उड्न सिकाइरहेका छन् ।
अर्घाखाँचीको घेराभिरको दक्षिण पहरामा संकटको नजिक रहेका हिमाली गिद्ध र हाडफोर गिद्धले बचेरालाई उड्न सिकाइरहेका छन् । त्यस्तै विश्वमै दुर्लभ सेतो गिद्धले भने गुँडमै बचेरा हुर्काइरहेका छन् ।
यस वर्ष भिरमा ३० हिमाली गिद्ध र एउटा हाडफोर गिद्धले बचेरा हुर्काएको पक्षी संरक्षण संघ (बीसीएन) ले जनाएको छ । त्यस्तै एउटा सेतो गिद्धले गुँडमा बचेरा हुर्काइरहेको छ ।
सेतो गिद्धले हिमाली गिद्ध र हाडफोरभन्दा एक महिनापछि बचेरालाई उडाउन सिकाउँछ । भिर अनुगमन गर्दा यस वर्ष हिमाली गिद्धले ३५, हाडफोर र सेतो गिद्धले एक/एक गरी ३७ जोडी गिद्ध गुड लगाएकामा ३१ जोडीको प्रजनन् सफल भएको बीसीएनले जनाएको छ । पाँच जोडीले भने अन्डा कोरले पनि बच्चा हुन सकेन । गिद्धले एकपटकमा एउटा मात्र बच्चा कोरल्छ ।
‘यो क्षेत्र संसारकै पहरामा गुँड लगाउने गिद्धहरूको उत्कृष्ट र उत्तम बासस्थानका रुपमा पहिचान भएको छ,’ चराविद् कृष्णप्रसाद भुसालले भन्नुभयो, ‘विगत १५ वर्षको अध्ययनअनुसार नेपालमा हिमाली गिद्धको गुँडहरुको संख्या र तिनीहरुको प्रजनन पनि बढेको छ ।’
भिरका प्वाल र सम्म परेका ठाउँमा गिद्ध ओथारो बसेका थिए । हिमाली गिद्ध र हाडफोर गिद्धले असोज, कात्तिकमा गुँड बनाउन थाल्छ । मंसिर, पुसतिर अन्डा पार्छ । फागुनतिर कोरल्छ । चैतदेखि जेठसम्म बेचरा हुर्काउँछ ।
तीन महिनामा हुर्काएर उड्नयोग्य बनाउँछ । अहिले उड्न अभ्यास गरिरहेका बचेरा जेठ अन्तिमबाट वा असार दोस्रो सातासम्म पूर्ण रुपमा उड्न थाल्छन् । सेतो गिद्धले भने माघ, फागुनतिर गुँड बनाउँछ । वैशाख, जेठमा बच्चा कोरल्छन् । अहिले हुर्काइरहेका छन् ।
‘घेराभिरमा यो वर्ष हिमाली गिद्धको ४० वटा गुँड रेकर्ड भएको छ । साथै सेतो गिद्धको दुईवटा र हाडफोर गिद्धको पनि दुईवटा गुँड रहेको रेकर्ड छ,’ बीसीएनका फिल्ड सहायक नहकुल भुसालले भन्नुभयो ।
माउले बचेरालाई आहारा पनि मासु नै खुवाउँछ । भाले-पोथी आलोपालो गरेर बचेरालाई आहारा खोज्न जान्छन् । एउटै भिरमा सबैभन्दा धेरै गुँड लगाएर बचेरा हुर्काउने यो घेराभिर मुलुककै पहिलो भिर भएको चराविद्हरुको दाबी छ । गिद्धको जोडी आजीवन सँगै हुन्छन्, गुँड निर्माणदेखि बच्चा कोरल्ने अनि हुर्काउने काम सबै सँगैसँगै गर्छन् ।
‘यहाँको बासस्थान गिद्धहरुका लागि सुरक्षित छ । आहाराको कमीले नै घटेको हो कि भन्ने मलाई लाग्छ,’ मालारानी गाउँपालिका अर्घाखाँचीका हरिप्रसाद खनालले भन्नुभयो, ‘यहाँ गिद्धको संरक्षण र संवर्धन गर्न सबैले जोड गर्ने हो भने यसको लोप हुँदैन होला ।’
नेपालमा हिमाली गिद्ध १० हजार, सेतो गिद्ध एक हजारभन्दा कम र हाडफोर पाँच सयको संख्यामा रहेको अनुमान छ । गिद्धको धार्मिक, सांस्कृतिक र वातावरणीय महत्त्व धेरै छ । गिद्ध सिनो खाएर प्रदूषित र दुर्गन्धित वातावरणलाई स्वच्छ, सफा र रोगमुक्त राख्न महत्त्वपूर्ण भूमिका खेल्छ ।