संकटमा याक र नाक : संरक्षणमा सरकारको ध्यान पुगेन

जेष्ठ ३१, २०८१ |कमला पाख्रिन
संकटमा याक र नाक : संरक्षणमा सरकारको ध्यान पुगेन

सोलुखुम्बु । अति दुर्लभ जंगली याक र नाक पछिल्ला केही वर्षयता संकटमा पर्दै गएका छन् । जलवायु परिवर्तनका कारण समयमा हिउँ नपर्दा चरन क्षेत्रमा घाँस नउम्रने समस्या बढेको छ ।

जसका कारण याक र नाकको आहारा पुगेको छैन । त्यसो त सोलुखुम्बुको खुम्बुमा याक अनुवंशिक स्रोत केन्द्र छ । तर याक संरक्षणका लागि न सरकारबाट पर्यप्त बजेट छुटिएको छ न त कुनै प्रभावकारी कार्यक्रम नै भएको छ ।

खुम्बु क्षेत्रस्थित तीन हजार ८८५ मिटरको उचाइमा केन्द्र कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट सञ्चालन भएको स्याङ्बोचेको याक आनुवंशिक स्रोत केन्द्र छ । सरकारले यो केन्द्र स्थापना गरेको ५१ वर्ष भयो । यहाँ अहिले याक र नाक गरी १५५ वटा चौपाया छन् यहाँबाट मनाङ, मुस्ताङ, जुम्लालगायत हिमाली क्षेत्रका किसानलाई याक, नाक वितरण गरिने केन्द्रका पशु सेवा प्राविधिक रामलल्लन यादव बताउनुहुन्छ ।

स्याङ्बोचेको ३४२ रोपनी क्षेत्र याक-नाकका लागि चरन क्षेत्रका रूपमा सुरक्षित छ । यहाँ उत्पादन हुने घाँस काटेर वर्षभरिका लागि राखिन्थ्यो तर यो वर्ष समयमा हिउँ नपरेकाले याकको चरण क्षेत्रमा घाँस नउम्रिँदा समस्या भएको छ । त्यति मात्र नभएर हिमपहिरोले याक र चौंरीको चरन क्षेत्र घटाएको छ । मौसममा आउने परिवर्तनले याक-नाकको खानेकुरामा समेत असर पारिरहेको यादवको भनाइ छ ।

चीनबाट केही याक ल्याएर केन्द्रले काम गरिरहेको छ । तर याक-नाकको संख्या नेपालमा पछिल्ला वर्ष निरन्तर घट्दो छ । गोरुजस्तो देखिने भाले जनावर याक हो भने गाईजस्तो देखिने शुद्ध नश्लको पोथी नाक हो । यादवका अनुसार मानिसजस्तै याक र नाक पनि वातावरणीय प्रभावका कारण जोखिममा पर्दै गएका छन् ।

वर्षा र हिमपातको समय तथा शैलीमा आएको परिवर्तनले अध्ययन गर्दा जलवायु परिवर्तनले असर पारिरेहको आनुवंशिक स्रोत केन्द्रले जनाएको छ ।


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement