काठमाडौं । सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरेको अभियोगमा सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरतबहादुर थापा र उपप्रमुख लीलाकुमारी मोक्तानसहित ६ जनाविरुद्ध ३० करोडभन्दा धेरै भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाल निलम्बनमा रहेका नगरप्रमुख थापा र उपप्रमुख मोक्तानसहित नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिमलकुमार पोखरेल, योजना प्रमुख सागर पौडेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीविरुद्ध मुद्दा दायर गरेको हो । ३० करोड २९ लाख ३४ हजार रुपैयाँ बिगो कायम गरी अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले आरोपित सबैलाई कायम भएको बिगो छुट्टाछुट्टै असुल गर्नुपर्ने मागदाबी गरेको छ । उनीहरुविरुद्ध भरत ताल निर्माणको आवरणमा सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको अभियोग लगाइएको छ । नगरप्रमुख थापासहित सबै प्रतिवादीविरुद्ध गलत लिखत तयार पारेको, गैरकानुनी हानीनोक्सानी गरेको र गलत प्रतिवेदन तयार पारेका गरी ३ वटा कसुर लगाइएको छ ।
नगरप्रमुख थापाविरुद्ध यसअघि अख्तियारले गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा २०८० चैत २८ मा पनि ५ करोड ३३ लाख ५३ हजार रुपैयाँ बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो । त्यसपछि प्रमुख थापा निलम्बनमा परेका छन् । थापा माओवादीबाट निर्वाचित मेयर हुन् ।
उक्त मुद्दाको विशेषबाट किनारा नलाग्दै थापासहित नगरपालिकाका पदाधिकारी तथा कर्मचारीविरुद्ध पदको दुरुपयोग गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको कसुरमा अर्को मुद्दा दायर भएको हो । नगरपालिकाको वडा नं ४ र १२ मा पर्ने बागमती माछा पोखरी प्रथम (भरत ताल) निर्माण गर्दा उत्खनन् भएको ढुंगा, गिटी, बालुवा लगायतको नदीजन्य पदार्थको बिक्री वितरणमा अनियमितता गरेको उजुरी अख्तियारमा परेको थियो ।