काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्ड र जर्मनी भ्रमणका लागि मंगलबार साँझ त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
राष्ट्रपति पौडेल कतारको दोहा हुँदै जेनेभा जाने कार्यक्रम छ । भ्रमणमा उहाँका साथमा प्रथम महिला सविता पौडेल पनि सहभागी हुनुहुन्छ । राष्ट्रपति निर्वाचित भएपछि उहाँको यो पहिलो औपचारिक विदेश भ्रमण हो ।
उहाँले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोसल जस्टिस्) को उद्घघाटन मञ्चलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्ने कार्यक्रम छ ।
जेठ ३१ गते नै राष्ट्रपति पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का महानिर्देशक गिल्बर्ट एफ होग्ङबोले शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ । त्यसैगरी राष्ट्रपति पौडेलले जेठ ३० गते स्विस महासंघका राष्ट्रपति भिओला आमहर्डसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ ।
स्विट्जरल्यान्डको भ्रमणपछि राष्ट्रपति पौडेल असार १ गते जेनेभाबाट जर्मनीको बर्लिन प्रस्थान गर्नुहुनेछ । राष्ट्रपति पौडेल संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैंक-वाल्टर स्टाइनमायेर निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लाग्नुभएको हो । उहाँले असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक वार्ता गर्नुहुनेछ ।
जर्मनीमा राष्ट्रपति पौडेलले पोस्टडाम इस्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्च इन्टिच्युट, जर्मन रिसर्च फर जियो- साइन्स, टेलेग्राफफेनवर्ग कलेजको अवलोकन गर्ने कार्यक्रम छ । साथै सेसिलियानहोफ एन्ड स्यान्ससोसी प्यालेस गार्डेन र सेसिलियानहोफ एन्ड स्यान्ससोसी प्यालेस म्युजियमको पनि अवलोकन गर्ने कार्यक्रम रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
असार २ गते गैरआवासीय नेपाली संघ जर्मनीले राष्ट्रपति पौडेललाई अभिनन्दन गर्ने कार्यक्रम छ । असार ३ गते जर्मनी ट्रेड एन्ड इनभेस्ट आबद्ध उद्योगी व्यापारीहरूले राष्ट्रपति पौडेलसँग भेटघाट गर्ने कार्यक्रम छ ।
राष्ट्रपति पौडेललाई बिदाइ गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्री, मन्त्रीहरुलगायत उच्चपदस्थ पदाधिकारीहरू कूटनीतिक नियोगका अधिकारीहरूको उपस्थिति थियो । राष्ट्रपति पौडेल भ्रमण सकेर असार ५ गते स्वदेश फर्किनुहुनेछ ।