सगरमाथा आधारशिविरमा फोहोर व्यवस्थापन चुनौतीपूर्ण

'सफा हिमाल अभियान'मा नेपाली सेना परिचालन
यो वर्ष मात्रै करिब ४० हजार किलो फोहोर सगरमाथा क्षेत्रबाट उठाइयो
जेष्ठ २६, २०८१ |महेश केसी
सगरमाथा आधारशिविरमा फोहोर व्यवस्थापन चुनौतीपूर्ण

सोलुखुम्बु । यस वर्षको सगरमाथा आरोहणको वसन्तकालीन सिजन सकिएको छ । सगरमाथा आरोहण गर्ने र आधार शिविरसम्म पर्यटक पुग्ने क्रम बढिरहँदा यस क्षेत्रमा फोहोर मैला पनि बढिरहेको छ । आधार शिविर क्षेत्रमा फोहोर व्यवस्थापन कसरी गरिएको छ त ?

विश्वको सर्वोच्च शिखर सगरमाथा । यहाँ पुग्ने पर्यटकको संख्या बर्सेनि बढ्दो छ । आरोहणको सिजनमा सगरमाथा क्षेत्रमा थामीनसक्नु भिड हुन्छ । आरोही र पर्यटकको चापसागै सगरमाथामा हुने फोहोर व्यवस्थापन ठूलै चुनौती बन्दै आएको छ । फोहोर व्यवस्थापनका लागि सरकारले 'सफा हिमाल अभियान' सञ्चालन गरेको छ भने सगरमाथा पोलुसन कन्ट्रोल कमिटी - एसपीसीसीले पनि सहयोग गर्दै आएको छ । 'सफा हिमाल अभियान' अन्तर्गत नेपाली सेनाले पनि यो वर्ष आधार शिविरमा क्याम्प नै खडा गरेर फोहोर संकलन र व्यवस्थापनको काम गर्‍यो ।

सगरमाथा क्षेत्रमा फोहोर र प्रदूषण वृद्धि हुनुको मुख्य कारण बढ्दो मानवीय गतिविधि हो । यहाँ आइपुग्ने पर्यटकदेखि स्थानीय स्तरबाट पनि फोहोर व्यवस्थापनका लागि पहल गरिएको छ । नष्ट गर्न सकिने र पुनः प्रयोग गर्न सकिने फोहोर छुट्याउने र पुनः प्रयोग गर्न सकिने फोहोरलाई झोलामा राखेर काठमाडौं लैजाने गरिएको छ ।

'क्यारी मि ब्याग' मार्फत पर्यटकले यो वर्ष करिब ४० हजार किलो फोहोर सगरमाथा क्षेत्रबाट लगेका छन् । तर लुक्लाबाट सगरमाथा आधार शिविरसम्मको मार्ग र शिखरको फोहोर व्यवस्थापनमा भने थुप्रै चुनौती छन् । सगरमाथा एउटा हिमाल मात्रै होइन, यो विश्वकै एक महत्वपूर्ण सम्पदा पनि हो । यसलाई सफा र सुन्दर राख्नु सबैको जिम्मेवारी हो । त्यसैले सगरमाथा क्षेत्रको सफाइको कामलाई थप प्रभावकारी बनाउन जरुरी छ । 


Image

महेश केसी

केसी रुकुम पश्चिम र रुकुम पूर्वका लागि कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।