गाँजा खेती र औषधिजन्य अनुसन्धानका लागि एक महिनाभित्र नियमावली बन्छ : गृहमन्त्री रवि लामिछाने

जेष्ठ २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
गाँजा खेती र औषधिजन्य अनुसन्धानका लागि एक महिनाभित्र नियमावली बन्छ : गृहमन्त्री रवि लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गाँजा खेती र औषधिजन्य उपयोगको विषयमा अध्ययन अनुसन्धानको लागि सरकारले एक महिनाभित्र नियमावली बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।

शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बजेटमा उल्लेख भएको ‘गाँजा व्यावसायिक उत्पादन गर्ने’ विषय सम्बन्धी छलफलमा बोल्दै गृहमन्त्री लामिछानेले यस्तो प्रतिबद्धता जनाउनुभएको हो । 

उहाँले सरकारले गृह मन्त्रालयमा गाँजा खेती अध्ययन गर्न बनेको समितिले एक महिनाभित्रै प्रतिवेदन दिने बताउनु भयो । ‘गाँजाको विषयमा पर्याप्त छलफल र अध्ययन अनुसन्धान भएको परिप्रेक्ष्यमा हामीले गाँजा खेती खोल्नको लागि दुबिधा राख्नुपर्ने अवस्था देखेको छैन,’ उहाँले भन्नुभयो, ‘म गृहमन्त्रीको हैसियतले सम्मानित समितिलाई गृह मन्त्रालयले अनुसन्धान गर्नको लागि विशेष गरी औषधिजन्य र अन्य व्यवसायी प्रयोगका लागि उपभोग गर्ने हिसाबले होइन उद्योगजन्य प्रयोगका लागि व्यवसाय गरी आम्दानी आर्जन गर्नको लागि उत्पादन गर्न गृह मन्त्रालयले एक महिनाभित्र नै नियमावली बनाउँछौ ।’

गृहमन्त्री लामिछानेले गाँजा खेती वैधानिक बनाउने विषयमा द्विविधा राख्नु नपर्ने उल्लेख गर्नुभयो । उहाँले गाँजा खेतीबारे अध्ययन गर्न, औषधिजन्य प्रयोजनका लागि गाँजा खुला गर्ने गरी एक महिनाभित्र नियमावली बनाउने समितिलाई जानकारी दिनुभयो ।

नियमावली बनाउने विषयमा पर्याप्त रूपमा छलफल भइसकेकाले तत्काल नियमावली आउने मन्त्री लामिछानेले विश्वास व्यक्त गर्नु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.