सिमकोट पुग्यो बस, खार्पुबाट आउने बिरामीलाई नि:शुल्क सेवा

जेष्ठ १८, २०८१ |जनकबहादुर शाही
सिमकोट पुग्यो बस, खार्पुबाट आउने बिरामीलाई नि:शुल्क सेवा

हुम्ला । हुम्ला सदरमुकाम सिमकोटमा पहिलोपटक बस पुगेको छ । राष्ट्रिय सडक सञ्जालमा अझै नजोडिएको सिमकोटमा चीनको बाटो हुँदै बस पुर्‍याइएको हो ।

चीनको बाटो भएर एक वर्षअघि हिल्सा पुगेको बस च्या छहरा खण्डमा सडक चौडा भएसँगै पहिलोपटक सदरमुकाम सिमकोटमा आज बस पुगेको हो । खार्पुनाथ गाउँपालिका ५, को खार्पु भएर बग्ने चुवाखोला कर्णाली नदीमा पुल नहुँदा सिमकोट राष्ट्रिय सडकसँग जोडिएको छैन ।

नेपालतिरबाट ल्याउन सम्भव नभएपछि चीनको बाटो प्रयोग गरी एक वर्षअघि दुईवटा बस हिल्सासम्म व्यवसायीहरुले पुर्‍याएका थिए । च्या छहराको बाटो चौडा पारिएसँगै ती बस सिमकोट पुगेका हुन् ।

सिमकोटबाट हिल्सा र खार्पुका लागि सञ्चालन हुने बसले खार्पुनाथ गाउँपालिका ५ को खार्पुबाट सिमकोट ल्याउनुपर्ने सबै बिरामीलाई नि:शुल्क सेवा दिइने भएको छ । यात्रुलाई सेवा दिन पहिलोपटक सदरमुकाम सिमकोटमा बस पुर्याईएको व्यवसायी विजय लामाले जनाउनुभयो ।

सुर्खेतमा रहेको हिल्सा पब्लिक यातायात प्रालिमा आबद्ध भएको बस सदरमुकाम सिमकोट पुगेसँगै हुम्लाका नागरिकलाई महँगो भाडा तिरेर गन्तव्यमा पुग्नुपर्ने बाध्यता हट्ने भएको छ । बस पहिलोपटक सदरमुकम पुगेपछि स्थानीय बासिन्दाले बाजागाजासहित यात्रु तथा चालकलाई अबिर लगाएर स्वागत गरेका थिए ।

सिमकोटदेखि हिल्सासम्मको सडकको दूरी ९५ किलोमिटर छ । तर, हाल स्थानीय जिपहरूले उक्त खण्डमा प्रतियात्रु पाँच हजार रुपैयाँ भाडा लिँदा महँगो भएको भन्दै बस सेवा सञ्चालनमा ल्याइएको हो । आइतबारदेखि नियमित रूपमा सिमकोट-हिल्सा र सिमकोट-खार्पुका लागि बस सञ्चालन हुने लामाले बताउनुभयो ।


Image

जनकबहादुर शाही

शाही कान्तिपुर टेलिभिजनका हुम्ला संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement