हुम्ला । नदी वारपार गर्न तुइन चढ्नुपर्ने बाध्यता हुम्लाका नागरिकलाई सामान्य जस्तै भएको छ । २०७२ साल असोज २५ गते केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा २ वर्षभित्र नेपालका सबै तुइन विस्थापित गरेर त्यहाँ झोलुङ्गे पुल बनाउने पहिलो निर्णय भएको थियो । अहिले २०८१ सालमा मुलुकको प्रधानमन्त्री ओली नै हुनुहुन्छ, तर हुम्लामा नदी वारपार गर्न तुइन चढ्नुपर्ने बाध्यता जस्ताको त्यस्तै छ ।
यो एक दशकमा हुम्लाका ७ मध्ये ३ वटा तुइन मात्र विस्थापन भए । सरकारले १० वर्ष पहिले तुइनमुक्त देश बनाउने घोषणा गरे पनि अहिलेसम्म हुम्लासँगै कर्णालीका धेरै ठाउँमा नदी वारपार गर्न तुइनकै भर छ । दैनिक कामकाजका लागि नदी वारपार गर्न ज्यानको बाजी लगाएर तुइन तर्नुपर्छ । कर्णाली नदीका विभिन्न ठाउँ वारपार गर्न स्थानीयस्तरमा बनेका काठेपुल बगेपछि तुइनको विकल्प छैन हुम्लावासीलाई।
खार्पुनाथको लालीबगर, सर्केगाडको ल्याप्चे र रिप तथा चंखेलीको लोती खोलामा पुल नहुँदा तुइन बाहेक अरू विकल्प छैन । रिपका बासिन्दा गाडी चड्न पनि तुइनकै भरमा नदी वारपार गर्छन् । घाँस, दाउराको भारी पनि तुइनबटै तार्छन् ।
“लोती नदीमाथि तुइनमा यताउता गर्दा डर लागेर आङ सिरिङ हुन्छ । बिरामी र बालबालिकालाई दैनिक बिहान–बेलुका तुइनमा आवतजावत गर्दा समस्या हुन्छ, पालिका केन्द्र मात्र होइन सदरमुकाम सिमकोट जान पनि तुइन तर्नु बाहेक अरू विकल्प छैन”, चंखेली-२ का वडा अध्यक्ष वृषबहादुर सिंहले भन्नुभयो ।
स्थानीय सरकारका जनप्रतिनिधि समेत चंखेलीमा तुइनबाट लोती कर्णाली तरेर कार्यालय आउजाउ गर्छन् । छिमेकी जिल्ला मुगुबाट आउनेहरूलाई पनि तुइनमै लोती नदी तर्नुपर्ने बाध्यता छ ।
“वडा नं. १, २ र ३ का बासिन्दाका मात्र नभएर यो बाटो भएर आउने सबै बटुवाको गुनासो आफूले दैनिक सुन्नुपरेको छ । तीनै वडाका अध्यक्ष, सदस्यहरू पनि तुइनमै आवतजावत गर्छन् । म पनि लोती कर्णालीमा तुइन तरेरै गाउँपालिका कार्यालय जाने गरेको छु । गाह्रो छ, पुल बनाउन कोसिस गरिरहेको छु,’ चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले बताउनुभयो ।
अहिले तुइन भएको ठाउँमा बेलिब्रिज लगाउन ठेक्का प्रक्रिया भइसकेकाले अबको १ वर्षभित्र यो दुःख हट्ने अपेक्षा छ । यस्तै सर्केगाड गाउँपालिका–२ को रिप गाउँ जानका लागि अन्य विकल्प नभएपछि रिपको साँगुरीमा व्यक्तिगत पहलमा बनेको तुइन चढेर कर्णाली वारपार गर्नुपर्छ ।
सरकारले २०७२ साल मै तुइन विस्थापित गर्ने घोषणा गरे पनि हुम्लाले त्यो दिन अझै पर्खिरहेको छ ।