बूढानीलकण्ठ नगरपालिकाका मेयरसँगै २ वडाध्यक्ष र एक वडासदस्यलाई १/१ महिनाको कैद

जेष्ठ १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
बूढानीलकण्ठ नगरपालिकाका मेयरसँगै २ वडाध्यक्ष र एक वडासदस्यलाई १/१ महिनाको कैद

काठमाडौं । काठमाडौं जिल्ला अदालतले बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, वडाध्यक्षहरु नवराज भट्टराई र सुमन तामाङ तथा वडासदस्य चन्द्रमान श्रेष्ठलाई १/१ महिनाको कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले अदालतले गरेको निर्णयको पालना नगरेको आरोपमा उनीहरुलाई १/१ महिनाको कैद सजाय दिने निर्णय गरेको हो । अदालतले दिएको पूर्वआदेश भने अझै ६० दिनभित्र कार्यान्वयन गरेको अवस्थामा भने उनीहरुले कैद सजाय भोग्नुपर्ने छैन ।

स्थानीय चन्द्रबहादुर थापासँगको जग्गासम्बन्धी मुद्दामा नगरपालिकाले अदालतको आदेशको पालना नगरेको हो । थापाको जग्गा सार्वजनिक उपयोगका लागि भन्दै नगरपालिकाले हडपेको, तर अहिलेसम्म पनि सो जग्गा उपयोग नगरेको भन्दै अदालतले नगरपालिकाले ओगटेको सो जग्गामा रहेका संरचना हटाई निज थापालाई जग्गा फिर्ता गर्न आदेश दिएको छ ।

‘अब ६० दिनभित्र संरचना हटाई निवेदक एवं वादीलाई चलन दिई कब्जा छाडिदिएको प्रतिवेदन पेस गरेमा उक्त कैद असुल गर्न पर्दैन,’ अदालतले भनेको छ । यदि सो अवधिमा पनि संरचना हटाएर हक हस्तान्तरण नगरेको अवस्थामा भने नगरपालिकाको खर्चमा संरचना हटाएर निवेदकलाई जग्गा फिर्ता गराउन अदालतको आदेश छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.