सहकारी पीडितको धर्ना र अनशन तेस्रो दिन पनि जारी

जेष्ठ १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
सहकारी पीडितको धर्ना र अनशन तेस्रो दिन पनि जारी

काठमाडौं । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आह्वानमा सहकारी पीडितहरुले आज तेस्रो दिन पनि धर्ना तथा अनशनलाई जारी राखेका छन् ।

दिनरात मिहिनेत गरी कमाएर बचत गरेको रकम फिर्ता पाउनुपर्ने माग गर्दै सूर्य आलेमगर, वीरेन्द्र गुरुङ र अविन श्रेष्ठले चर्को घाम र झरीलाई समेत बेवास्ता गर्दै अनशनलाई निरन्तरता दिएका हुन् ।

बचत फिर्ता र यसअघि सरकारसँग भएको सहमति कार्यान्वयनको माग गर्दै सहकारी पीडित तेस्रो चरणको आन्दोलनमा छन् । उनीहरुले तत्काल २५ अर्बको कोष स्थापना गरी आफ्नो बचत फिर्ता दिन पनि सरकारसँग माग गरेका छन् ।

सरकारी तथ्यांकअनुसार देशभरका ३५ हजार पाँच सयमध्ये पाँच सयभन्दा बढी सहकारीले हजारौं बचतकर्ताको रकम अपचलन गरेका छन् । सहकारीमा आफैंले बचत गरेको रकम फिर्ता नभएपछि बचतकर्ताले विभिन्न समस्या भोग्नुपरिरहेको छ । न्याय माग्दै बारम्बार आन्दोलन गर्दासमेत सरकार मूकदर्शक बनेको उनीहरुको पीडित सुनिला पौडेल खनालको गुनासो छ ।

सहकारी पीडितहरुसँग सरकारले यसअघि दुई पटकसम्म सहमति गरेको थियो । तर, सहमतिअनुसार आफ्नो बचत फिर्ता नपाउँदा र अपचलनमा संलग्नलाई कारबाही नहुँदा सहकारी पीडित पुन: आन्दोलित भएका हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.