४ दिनदेखि हिरासतमा रहनुभएका सिरोहिया अस्पताल भर्ना

जेष्ठ १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
४ दिनदेखि हिरासतमा रहनुभएका सिरोहिया अस्पताल भर्ना

जनकपुर । चार दिनदेखि प्रहरी हिरासतमा रहनुभएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना हुनुभएको छ । गत मंगलबार काठमाडौंमा पक्राउ गरी रातारात जनकपुर पुर्‍याइनुभएका सिरोहिया दुई दिनदेखि अस्वस्थ हुनुहुन्थ्यो । शुक्रबार उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेपछि अस्पताल भर्ना हुनुभएको हो । 

सिरोहियाका वकिल रमन कर्णले उनको स्वास्थ्य अवस्थाबारे प्रहरीलाई शुक्रबार साँझ जानकारी गराए पनि ढिलासुस्ती भएकाले समस्या थपिएको जानकारी दिनुभयो । ‘मुटुमा कठिनाइ, रिंगटा लाग्ने, टाउको दुख्ने समस्या बढेपछि परिवारले अस्पताल पठाउन प्रहरीलाई आग्रह गरेको थियो। तर, प्रहरी ढिलाइ गर्‍यो । स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि मात्रै जनकपुरस्थित प्रादेशिक अस्पताल भर्ना गरियो,’ कर्णले भन्नुभयो।

प्रादेशिक अस्पतालमा न्युरोलोजी लगायतको परीक्षण सुविधा नभएकाले काव्या अस्पतालमा सिरोहियालाई सारिएको छ । काव्यामा उपचार भइरहेको डाक्टर एसके सिंहले जानकारी दिनुभयो । ‘पहिलेदेखि नै मुटुमा समस्या देखिएपछि मुम्बईमा एन्जिओग्राफी गराउनुभएको रहेछ,’ सिंहले भन्नुभयो, ‘क्रिटिकल कन्डिसनमा हुनुहुँदोरहेछ भन्ने थाहा पायौं ।’

सिरोहियालाई पहिलेदेखि नै डायबेटिज, उच्च रक्तचाप लगायतका समस्या रहेको परिवारले जनाएको छ । स्वास्थ्य अवस्था असामान्य भएपछि काव्या अस्पतालका चिकित्सकले कार्डियोलोजिस्ट डा. ओममूर्ति अनिललाई टेलिफोनमार्फत जानकारी गराएको छ । अनिलको समेत सल्लाहमा थप उपचार अघि बढाइएको अस्पतालले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.