मोरङमा लागुऔषध तस्करीलाई प्रहरीले गोली चलाएर समात्यो

जेष्ठ १, २०८१ |सुशीला पाठक
मोरङमा लागुऔषध तस्करीलाई प्रहरीले गोली चलाएर समात्यो

विराटनगर । मोरङको रतुवामाईबाट ब्राउन सुगर (खैरो हेरोइन)को कारोबारीलाई प्रहरीले गोली चलाएर पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो काठमाडौंबाट खटिएको टोलीले ब्राउन सुगरका कारोबारीलाई नियन्त्रणमा लिन रतुवामाई नगरपालिका-६ मा आज (मंगलबार) दिउँसो ३ बजेतिर गोली चलाएको हो ।

भारतको किसनगञ्ज-८ घर बताउने ३४ वर्षीय  भगीरथ हरिजनलाई पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिनुभयो । हरिजनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीलाई नै आक्रमण गरेपछि प्रहरीले २ राउन्ड गोली फायर गरेको जनाएको छ । उनको दाहिने तीघ्रामा गोली लागेको छ । शंकास्पद अवस्थामा भेटिएका उनलाई प्रहरीले पिछा गरेको थियो । हरिजनलाई बीआर ३८ क्यू ३८३० नम्बरको मोटरसाइकलमा भाग्दै गर्दा प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो ।

तर, प्रहरीमाथि आक्रमणमा उत्रिएपछि प्रहरी गोली चलाउन बाध्य भएको बताइएको छ । घाइते अवस्थाका हरिजनलाई उपचारका लागि अरनिको अस्पताल उर्लाबारी लगिएको छ । उनको साथबाट ब्राउन सुगरजस्तो देखिने १ सय ५८ ग्राम धुलो पदार्थ (प्लाष्टिकसहित) बरामद भएको प्रहरीले जनाएको छ । हरिजनलाई नियन्त्रणमा लिने क्रममा प्रहरी सहायक निरीक्षक नवीन साही सामान्य घाइते हुनुभएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको एसपी कार्कीले बताउनुभयो ।


Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement