बारीमा दुम्सी र बाँदर आतंक : बाली जोगाउनै हम्मे, खाली भए बस्ती

सर्वसाधारण विस्थापित
जेष्ठ १, २०८१ |वरुण पनेरू
बारीमा दुम्सी र बाँदर आतंक : बाली जोगाउनै हम्मे, खाली भए बस्ती

डडेल्धुरा । बाँदर, दुम्सी, बँदेलजस्ता जंगली जनावरले बाली सखाप बनाएपछि सुदूरपश्चिमका पहाडी बस्ती विस्थापित हुन थालेका छन् । खेती किसानी गर्नेहरुले जंगली जनावरबाट बाली नै जोगाउन नसक्ने अवस्था आएपछि बस्ती खाली गरी नागरिक पलायन भएका हुन् । जंगली जनावर नियन्त्रण गरी बाली जोगाउने नीति अपनाउन न प्रदेश सरकारले पहल गरेको त न त स्थानीय सरकारले सकेका छन् ।

बैतडीको दशरथचन्द नगरपालिका ८ को धौल्याली गाउँमा केही वर्ष अघिसम्म ६८ परिवारको बसोबास थियो । अहिलेसम्म ४० परिवारले घर छाडिसकेका छन् । बाँदरले बाली सखाप बनाउन थालेपछि बाध्य भएर गाउँ छाड्नेको संख्या बढेको हो । कुनै समय मकै, गहुँ, मास, भटमास, सिमीलगायत बाली झुल्ने यो गाउँको खेतबारी अहिले झाडीमा परिणत भएको स्थानीय प्रताप बुडाल बताउनुहुन्छ ।

गाउँमा बसिरहेकाहरुले पनि बाली जोगाउनै नसक्ने भएपछि खेती गर्न छाडेका छन् । जंगली जनावरले अन्न, फलफूल मात्रै होइन, घरभित्रको सामानसमेत लैजाने गरेको स्थानीय शान्ति लुहारको दुखेसो छ ।

जंगली जनावरको आतंक बढेपछि पछिल्लो एक दशकमै सुदूरपश्चिमका सात पहाडी जिल्लाबाट करिब दुई लाख मानिसले बसाइसराइ गरेको तथ्यांक छ । पहाडमा जनसंख्या वृद्धिदर ओरालो लागिरहेका बेला बसाइसराइ बढेपछि विद्यालयमा विद्यार्थी अभाव देखिन थालेको छ । जंगली जनावर नियन्त्रण गर्न न प्रदेश सरकारले कुनै नीति लिएको छ न त स्थानीय सरकारले नै ठोस पहल गरेका छन् ।

‘अहिले जंगलको क्षेत्र बढेको अवस्था छ । बँदेलका लागि रातभर पहरा गर्नुपर्ने अवस्था छ । दिउँसो बाँदरले दु:ख दिएको छ,’ भागेश्वर गाउँपालिका डडेल्धुराका अध्यक्ष हेमराज चटौत भन्नुहुन्छ, ‘जे खेती लगाए पनि जंगली जनावरका लागि ९० प्रतिशत हुने अवस्था छ । यसैले सर्वसाधारणले खेतीपाती नगर्ने अवस्थामा पुगेका छन् र जताततैका जमिन बाँझै छन् ।’

पहाडबाट तराई झर्ने चलन त पुरानै हो । तर जंगली जनावरकै कारण बस्ती नै खाली गरेर अन्यत्र जानुपर्ने पछिल्लो बाध्यताले अब पहाडका बस्ती झनै रित्तिँदै जाने जोखिम बढेको छ । जंगली जनावर नियन्त्रण गरी मानवबस्ती जोगाउन सरकारले नै पहल गर्नुपर्ने देखिन्छ ।


Image

वरुण पनेरू

पनेरू कान्तिपुर टेलिभिजनका डडेल्धुरा संवाददाता हुन् ।