आज अन्तर्राष्ट्रिय श्रमिक दिवस : नेपालको नारा छ- सबैका लागि सामाजिक न्याय तथा मर्यादित काम

वैशाख १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस : नेपालको नारा छ- सबैका लागि सामाजिक न्याय तथा मर्यादित काम

काठमाडौं । आज मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस । 'सबैका लागि सामाजिक न्याय तथा मर्यादित काम' भन्ने नाराका साथ देशभर प्रचारात्मक कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।

श्रमिकको हक अधिकार सुनिश्चितताका लागि दबाब दिने उद्देश्यले मजदुरका संघ-संगठनले पनि कार्यक्रम गरी दिवस मनाउँदैछन् । यसै अवसरमा राजनीतिक दलसम्बद्ध ट्रेड युनियनहरुले अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि सामाजिक सुरक्षामा सहभागी गराउन तथा श्रमिकको न्यूनतम ज्याला बढाउन माग गरेका छन् ।

राष्ट्रिय जनगणना २०७८ ले १ करोड १० लाख ३८ हजार मानिस कुनै न कुनै किसिमको रोजगारीमा संलग्न रहेको देखाएको छ । यसमध्ये कृषि, वन र माछापालनमा ५० प्रतिशत, सामान्य वा प्राथमिक पेशामा २३ प्रतिशत, सेवा तथा वस्तु बिक्रीमा करिब ६ प्रतिशत संलग्न छन् । तर, श्रम शक्ति उत्पादनको अनुपातमा नयाँ रोजगारी सिर्जना हुन नसक्दा श्रमकै लागि नेपाली युवा विदेशिनुपर्ने अवस्था छ ।

सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग गर्दै मजदुरहरुले गरेको आन्दोलन सफल भएको स्मरणमा विश्वभर श्रमिक दिवस मनाइन्छ ।

१७औं शताब्दीमा भएको संघर्षले मजदुरहरुले यो अधिकार प्राप्त गरेका थिए । सन् १८८९ मा फ्रान्सको राजधानी पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताहरुको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यसपछि सन् १८९० देखि हरेक वर्ष मे १ मा संसारभर श्रमिक दिवस मनाउने गरिन्छ ।

नेपालमा भने विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । तर, २०६४ सालदेखि अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिन सरकारले आधिकारिक रुपमा सार्वजनिक विदा दिन थालेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement