बोडेमा जिब्रो छेड्ने जात्राको हर्ष (फोटो फिचर)

वैशाख २, २०८१ |हेमकुमार प्रसाईं|सुन्दर शिल्पकार
बोडेमा जिब्रो छेड्ने जात्राको हर्ष (फोटो फिचर)

भक्तपुर । भक्तपुरको बिस्का जात्राअन्तगत् मध्यपुर थिमीको बोडेमा ‘म्ये प्वा खनेगु जात्रा’ अर्थात् जिब्रो छेड्ने जात्रा मनाइएको छ ।

प्रत्येक वर्ष वैशाख २ गतेका दिन ‘म्ये प्वा खनेगु जात्रा’ अर्थात जिब्रो छेड्ने जात्रा मनाइन्छ । जात्रामा यस वर्ष स्थानीय २८ वर्षीय सुजन बाग श्रेष्ठले दोस्रोपटक जिब्रो छेडाए ।

गत वर्ष पहिलोपटक जिब्रो छेडाएका सुजनले यस वर्ष पनि जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका हुन् । जिब्रो छेड्ने व्यक्तिले तीन दिन अघिबाट निराहार व्रत बस्नुपर्ने, महिलालाई छुन नहुने श्रेष्ठको भनाइ छ ।

बोडेका बासिन्दामध्ये श्रेष्ठ थरका एक जनाले प्रत्येक वर्ष वैशाख २ गते बोडेस्थित पाँचो गणेश मन्दिरको प्रांगणमा हजारौं मानिसको उपस्थितिमा देशलाई अनिकालवाट जोगाउन, रोग व्याधि नलागोस् र मुलुकमा शान्तिको कामना गर्दै जिब्रो छेड्ने प्रचलन छ ।

करिब एक फिट लामो सुइरोले जिब्रो छेडेपछि जिब्रो छेड्नेले बाँसले निर्माण गरिएको भ्यय् (बत्तीसहितको बाँसले निर्माण गरिएको अर्धचन्द्रकार महादीप) काँधमा बोकेर बोडे सहर परिक्रमा गर्नुपर्छ ।

जिब्रो छेड्दा बोडेका बासिन्दालाई भूतप्रेतले दु:ख नदिने किंवदन्ती छ ।

यसअघि उनका बुबा बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आएका थिए । गत वर्ष जात्रालाई पुस्तान्तरण गर्दै बुद्धकृष्णले उनका छोरा सुजनलाई जिब्रो छेडाउने निर्णय गरेका थिए ।

सुजनका बुबा बुद्धकष्ण बाग श्रेष्ठले ९ पटक जिब्रो छ्डेर जात्रालाई निरन्तरता दिएका थिए । सुजनका माइलो बुबा कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाइसकेका छन् । सुजन पेसाले सवारीचालक हुन् ।


Image

हेमकुमार प्रसाईं

प्रसाईं कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।

Image

सुन्दर शिल्पकार

शिल्पकार कान्तिपुर टेलिभिजनका भक्तपुर संवाददाता हुन् ।