गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल संलग्न सहकारीमा काठमाडौं महानगरको छापा

चैत्र २१, २०८० |कान्तिपुर टीभी संवाददाता
गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल संलग्न सहकारीमा काठमाडौं महानगरको छापा

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेपछि काठमाडौं महानगरपालिकाले गृहमन्त्री रवि लामिछाने पत्नी निकिता पौडेल संलग्न रहेको साइ स्वागत बचत तथा ऋण सहकारी संस्थाको अनुगमन गरेर केही कागजात नियन्त्रणमा लिएको छ ।

बचतकर्ताको रकम फिर्ता नदिएको र अपचलन भएको उजुरी परेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले त्यसको जानकारी महानगरसँग मागेको थियो ।  त्यसपछि महानगरले साइ स्वागत बचत तथा ऋण सहकारी संस्थामा अनुगमन गरेको हो । यो सहकारीका चार पदाधिकारीमध्ये गृहमन्त्री लामिछाने पत्नी निकिता उपाध्यक्ष थिइन् । 

निकिता जमानी बसेर राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई ८० लाख रुपैयाँ ऋण दिएको बताइएको छ । यो सहकारीमा निकिता जमानी बसेर प्रवाह भएको अधिकांश ऋण उठेको छैन । महानगरले सहकारीका सफ्टवेयर र ऋणीहरूको सूचीसमेत नियन्त्रणमा लिएको छ । 

काठमाडौं महानगरपालिकामा सहकारीसम्बन्धी १९ सय १५ वटा उजुरी परेका छन् । महानगरले ४० वटा सहकारीमा अनुगमन गर्ने तयारी गरेको छ ।

माथिको समाचारमा निकिता पौडेलले  प्रष्टीकरण दिनु भएको हो ।

..............................................................................................

कान्तिपुरटिभी डटकममा २०८१ वैशाख २४ गते प्रकाशित निकिता पौडेलको प्रष्टीकरण

साई स्वागत सहकारीमा मेरो कुनै पनि कारोबार र लेनदेन बाँकी छैन : निकिता पौडेल

निकिता पौडेलले गत चैत २१ गते कान्तिपुरटीभी डटकमबाट प्रकाशित ‘गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल संलग्न सहकारीमा काठमाडौं महानगरको छापा’ शीर्षकको समाचारप्रति ध्यानाकर्षण जनाउँदै प्रष्टीकरण दिनुभएको छ ।

उक्त समाचारमा तस्बिरसहितको सञ्चालकको विवरणमा हातैले उजुरीकर्ताको नाम समावेश गरी शङ्कास्पद हस्ताक्षर एवं हजुरबुबाको गलत नाम उल्लेख रहेको विवरणसहित प्रकाशन एवं सम्प्रेषण भएको भन्दै उहाँले खण्डनका लागि माग गर्नुभएको हो ।

काठमाडौं महानगरले दिएको जानकारी अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेपछि महानगरपालिकाले साइ स्वागत बचत तथा ऋण सहकारी संस्थाको अनुगमन गरेर केही कागजात नियन्त्रणमा लिएको सम्बन्धी समाचार प्रकाशन भएको थियो ।

उहाँले आफूलाई साई स्वागत बचत तथा ऋण सहकारी संस्था लिमिटेडको उपाध्यक्षमा नियुक्त गरिएको सहकारीको अभिलेखबाट देखिए पनि आफू उक्त भूमिकामा नरहेको दाबी गर्नुभएको छ ।

उक्त सहकारी संस्थामा आफ्नो कुनै पनि कारोबार र लेनदेनसमेत बाँकी नरेको बताउँदै पौडेलले भन्नुभएको छ, ‘म निवेदक साई स्वागत बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मिति २०७५/९/२८ को नवौँ वार्षिक साधारण सभाबाट सञ्चालक समिति उपाध्यक्ष पदमा नियुक्त गरेको सहकारीको अभिलेखबाट देखिए पनि आ.व. २०७५/०७६ को मिति २०७६/९/२६ को साधारण सभामा मेरो उपस्थिति नरहेको, आ.व. २०७७/६/८ मा उपाध्यक्ष पदबाट राजीनामा दिई मिति २०७७/६/९ मा स्वीकृत भै त्यसपछि सहकारीको कुनै पनि जिम्मेवारी एवं भूमिकामा म रहेको छैन ।’

कान्तिपुर टीभी डटकमको भनाइ

निकिता पौडेलले समाचारको खण्डनका लागि अनुरोध गर्दै उल्लेख गरेजस्तै 'उहाँ जमानी बसेर प्रवाह भएको अधिकांश ऋण नउठेको’ भन्ने व्यहोरा काठमाडौं महानगरको अनुगमन टोलीले जानकारी दिएको हो । त्यसैका आधारमा समाचार प्रकाशन गरिएको हो । यो सहकारीमा संलग्न स्रोतले समेत हामीलाई महानगरको भनाइलाई पुष्टि गरेको थियो । उक्त सहकारीको रकम अपचलनबारे प्रहरीले अनुसन्धान गर्दै आएको र सोको तालुक मन्त्रालयको नेतृत्वमा पौडेलका श्रीमान् रवि लामिछाने रहेको सन्दर्भमा 'स्वार्थको द्वन्द्व' आकर्षित हुने सिद्धान्तका आधारमा गृहमन्त्रीको नाम जोडिएको हो ।

प्रधान सम्पादक


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.