मिसिल फाइल नआइपुगेपछि कालीबहादुर खामलाई पुन: हिरासतमै राखियो

चैत्र २१, २०८० |कान्तिपुर टीभी संवाददाता
मिसिल फाइल नआइपुगेपछि कालीबहादुर खामलाई पुन: हिरासतमै राखियो

चितवन । माओवादीका पूर्वकमाण्डर कालीबहादुर खामलाई घटनाको मिसिल फाइल नआइपुगेपछि आज जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमै राखिएको छ । काठमाडौंको कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या गरेको अभियोगमा १५ वर्षपछि हिजो खाम पक्राउ परेका थिए ।

आज बिहान २ बजे चितवन ल्याइएका खामलाई बिहान ११ बजेको समयमा चितवन जिल्ला अदालत लगिएको थियो । तर घटनाको मिसिल समयमै नआइपुगेपछि अदालतका २ नम्बर बेन्चका न्यायधीश दयाराम ढकालले मिसिल प्राप्त भएपछि प्रतिवादी खामलाई अदालत उपस्थित गराउन आदेश दिएको अदालतका श्रेष्तेदार विष्णुप्रसाद आचार्यले जानकारी दिए ।

दिनभर अदालतमा रहेका आरोपी खामलाई अपराह्न पुनः जिल्ला प्रहरी कार्यालयमै लगिएको थियो । जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक भावेश रिमालले अदालतको आदेश अनुसार बुधबारका लागि पुनः खामलाई हिरासत कक्षमै राखिएको बताए ।

आरोपी खामलाई चितवन ल्याइएपछि मृतक रामहरि श्रेष्ठकी श्रीमती रमिला पनि चितवन आएकी छन् । दिउँसो अदालत परिसरमै रहेकी रमिलाले खाम पक्राउ परेसँगै न्याय पाउने विश्वास व्यक्त गरिन् ।

रामहरि श्रेष्ठको घरबाटै अपहरण पश्चात २०६५ वैशाख २६ गते हत्या भएको थियो । श्रेष्ठलाई सानो काम छ भन्दै वैशाख १५ गते मध्यराति तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजन कमाण्डर गोविन्दबहादुर बटालासहितको टोलीले घरबाट लगेको मृतककी श्रीमती रमिलाले दिएको जाहेरीमा उल्लेख छ ।

यस घटनामा संलग्न भएको भन्दै चितवन जिल्ला अदालतले २०६८ जेठमा बटालालाई दोषी ठहर गर्दै तीन वर्ष कैद सुनाएको थियो । त्यही बेला फरार अभियुक्त सबैको मुद्दा मुल्तवीमा राखेको थियो । अहिले खाम पक्राउ परेसँगै उक्त घटनाको फाइल अब पुनः अघि बढ्न लागेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.