कोटिभिटीद्वारा ५ अर्ब १८ करोडभन्दा बढी कर छली, वर्षैपिच्छे स्वामित्व परिवर्तन

चैत्र २०, २०८० |कृपाल गौतम
कोटिभिटीद्वारा ५ अर्ब १८ करोडभन्दा बढी कर छली, वर्षैपिच्छे स्वामित्व परिवर्तन

काठमाडौं । अर्बौं कर छल्न वर्षैपिच्छे स्वामित्व परिवर्तन । हुँदा-हुँदा कम्पनी नै खारेजीको प्रयास । नेपाली जनशक्तिको प्रयोग गरेर वर्षौंदेखि सफ्टवेयर निर्यात गर्दै आएको एउटा कम्पनीले ५ अर्बभन्दा बढी कर छली गरेको पाइएपछि राजस्व अनुसन्धान विभागले कोटिभिटी नेपालविरुद्ध मुद्दा दायर गरेको छ । पूर्ण विदेशी लगानीको यो कम्पनीले गरेको कर छली झण्डै एनसेलकै शैलीमा छ ।

कस्तो कम्पनी हो कोटिभिटी नेपाल र यो कम्पनीले कसरी यत्रो कर छली गर्‍यो ? एकातिर सरकारले विदेशी लगानी आकर्षित गर्न लगानी सम्मेलन गरिरहेको छ भने अर्कातिर विदेशी लगानीका कम्पनीहरू करछली लगायतका मामिलामा सरकारको कानुनी पञ्जामा पनि परिरहेका छन् ।

राजस्व अनुसन्धान विभागले ५ अर्ब १८ करोडभन्दा बढी कर छली गरेको आरोपमा त्यसको दोब्बर हुन आउने १० अर्बभन्दा बढी बिगो असुलको दाबीसहित आइतबार सूचना प्रविधि कम्पनी कोटिभिटी नेपालविरुद्ध मुद्दा दायर गर्‍यो । स्वामित्व परिवर्तन गर्दा कानुनअनुसार कर राजस्वसमेत दाखिला नगरी राजस्व चुहावट गरेको विभागको दाबी छ ।

कोटिभिटिले कर छली गरिरहेको विषयमा अनुसन्धान गरिरहेको विभागले अर्को तथ्य फेला पार्‍यो-कोटिभिटिले कर छलीकै लागि कम्पनी खारेज गरेर अर्को कम्पनी खडा गर्न निवेदन दिइसकेको रहेछ । नेपाल इन्फिनिट कम्प्युटर सोलुसन नामक नयाँ कम्पनी खडा गरेर खारेजीमा जान लागेको सूचना पाएपछि विभागले कम्पनी रजिस्ट्रारको कार्यालयमा खारेजी रोक्न निवेदन दिएको छ । आखिर कसरी गर्‍यो यो कम्पनीले यत्रो कर छली ?

यसका लागि २० वर्षअगाडि फर्कनुपर्छ । विभागका अनुसार आर्थिक वर्ष ०६०/६१ मा पूर्ण वैदेशिक लगानीको कम्पनीका रूपमा भेरिस्क इन्फर्मेसन टेक्नोलोजी कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भयो । कम्पनीमा ६ सयभन्दा बढी सफ्टवेयर इन्जिनियरहरू प्रत्यक्ष-अप्रत्यक्ष रूपमा आबद्ध छन् । यसले आफ्नो उत्पादन अमेरिकाको आफ्नो मातृ कम्पनी कोटिभिटी इन्कलाई निर्यात गर्दै आएको छ ।

०६०/६१ मा स्थापना भएपछि बर्सेनिजसो नाम परिवर्तन र सेयर स्वामित्व परिवर्तन हुँदै आएको देखिन्छ । २०७१ पुस ६ मा डी टु हकाई इन्कका रूपमा सेयरधनी दर्ता उल्लेख भएको र त्यसको ३ महिनापछि अर्थात् चैत १३ गते भेरिस्क हेल्थ इन्कमा रुपमा सेयरधनी दर्ता किताबमा उल्लेख भएको पाइएको विभागको भनाइ छ ।

त्यसपछि २०७३ साउन २८ मा भेरिस्क इन्फर्मेसन टेक्नोलोजीबाट भर्सेन्ड टेक्नोलोजी प्रालिमा परिवर्तन भयो भने २०७५ कात्तिक १ गते भर्सेन्ड टेक्नोलोजी प्रालिबाट कोटिभिटी नेपाल प्रालिमा स्वामित्व परिवर्तन भयो । २०७६ भदौ २६ मा सेयरधनीको नाम कोटिभिटी इन्क रहेको उल्लेख छ । यसले आफनो वस्तु निर्यात अमेरिकास्थित आफ्नै होल्डिङ कम्पनी कोटिभिटी इन्कलाई गरेको देखिन्छ । यसरी निर्यात गर्दा कम्पनीले शून्य दरको सुविधा उपयोग गर्‍यो, जुन कानुनविपरीत हो ।

मुख्य कम्पनी कोटिभिटी इन्क रहेको र डी टु इन्क, भेरिस्क हेल्थ इन्क, भर्सेन्ड टेक्नोलोजी इन्क र कोटिभिटी नेपाल सहायक कम्पनीका रुपमा रहेको विभागले जनाएको छ । उक्त कम्पनी मध्यस्तरीय करदाता कार्यालयमा छ । पटक-पटक स्वामित्व परिवर्तन गर्दा करदाता कार्यालयलगायत नेपाल सरकारका निकायमा जानकारी नदिई कानुनबमोजिम तिर्नुपर्ने आयकर तथा मूल्य अभिवृद्धि दाखिला गरेन ।

राजस्व अनुसन्धान विभागले पाटन उच्च अदालतमा मुद्दा दायर गरेपछि अब उक्त कम्पनी खारेजीमा जान पाउनेछैन । वैदेशिक लगानी भित्र्याउन सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्दै छ । यही बेला पूर्ण वैदेशिक लगानीको कम्पनीले गरेको ठूलो कर छलीको घटना सार्वजनिक भएको छ। यसैले जतिसक्दो चाँडो यस्ता विषयमा स्पष्ट नीति बनाउनुपर्छ ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।