लुटधन्दाको साहासिक रिपोर्टिङ गरेका कान्तिपुर टेलिभिजनका पत्रकार विनय आजादलाई राज्यले संरक्षण गर्नुपर्थ्यो : सांसद अब्दुल खान

चैत्र २०, २०८० |कान्तिपुर टीभी संवाददाता
लुटधन्दाको साहासिक रिपोर्टिङ गरेका कान्तिपुर टेलिभिजनका पत्रकार विनय आजादलाई राज्यले संरक्षण गर्नुपर्थ्यो : सांसद अब्दुल खान

काठमाडौं । जनमत पार्टीका सांसद् अब्दुल खानले मदिरा तस्करीको साहासिक रिर्पोटिङ गरेका कान्तिपुर टेलिभिजनका पत्रकार विनय आजादलाई धम्की दिने प्रहरीलाई कारबाहीको माग गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लुट धन्दाको साहासिक रिर्पोटिङ गरेका पत्रकार विनय आजादलाई राज्यले संरक्षण गर्नुपर्ने बताए ।

‘गत चैत ४ गते कान्तिपुर टेलिभिजनमा एउटा समाचार आयो,’ उनले भने, ‘त्यसमा सिराह नगरपालिका ९ गोलबजारमा रहेको मदिरा उत्पादक कम्पनी शारदा डिस्टिल उद्योगले आन्तरिक राजश्व विभागको एउटै स्टिकरलाई दुईंतीन टुक्रापारि कसरी लाखौँ रूपैयाँ छलि गर्दै आएको छ भन्ने कुरा उठाएको छ । दैनिक झण्डै एक करोडको मदिरा कसरी भारत तस्करी गर्दै आएको छ भन्ने छताछुल्ल भएको थियो ।’

तर यो घटनाका बारेमा पक्राउ परेका मान्छेलाई छाडेको घटनाले मिलेमतोमै ढाकछोप गरेको भन्ने प्रष्ट पारेको उनको भनाइ छ । उनले उक्त रिपोर्टिङ गर्ने पत्रकारलाई धम्कि दिने प्रहरी दिएको कुराको पनि विरोध गरे ।

‘यति भयंकर लुट धन्दाको साहासिक रिर्पोटिङ गरेका कान्तिपुर टेलिभिजनका पत्रकार विनय आजादलाई राज्यले संरक्षण गर्नुपर्थ्यो,’ उनले भने, ‘तर सार्वजनिक स्थलमा नेपाल प्रहरीका एकजना सहीकै रोहबरमा तस्करहरूले उनीमाथि आक्रमण गर्ने योजना बनाएको कुरा बाहिर आएको छ । यस विषयमा नेपाल पत्रकार महासंघको जिल्लादेखि केन्द्र सम्मको कार्यसमितिले छानबिन र कारबाहीको माग गर्‍यो तर कतै बाट सुनवाइ भएको छैन ।’

उनले थपे, ‘मदिरा तस्करी, कर छलि र पत्रकार आजादमाथि आक्रमण गर्ने योजना बनाउने कार्यमा संलग्न सबैलाई कडा कारबाही हुनुपर्छ । होइन भने हामी गिरोहतन्त्रको संरक्षक हौँ भनेर भन्नुपर्‍यो ।’


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.