लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहीबार विश्वासको मत लिने

चैत्र २०, २०८० |कान्तिपुर टीभी संवाददाता
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहीबार विश्वासको मत लिने

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले चैत २२ गते बिहीबार विश्वासको मत लिने भएका छन् । नेकपा माओवादी केन्द्रको बर्हिगमनले अल्पमतमा परे पछि मुख्यमन्त्री चौधरीले विश्वाशको मत लिने भएका हुन् ।

मंगलबार बिहान बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले विश्वासको मत लिन बिहीबार दिउँसो ४ बजे विशेष अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिए ।

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै लुम्बिनीमा माओवादी केन्द्रले २३ फागुनमा समर्थन फिर्ता लिएको थियो । दुई वटा दुई भन्दा बढि पार्टी मिलेर सरकार निर्माण भएकाले सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको एक महिना भित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । सोही अनुसार २२ चैतमा मुख्यमन्त्री चौधरीले विश्वासको मत लिन लागेका हुन् ।

गत वैशाख १४ मा लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा डिल्लीबहादुर चौधरी नियुक्त भएका थिए । वैशाख १९ मा मुख्यमन्त्री चौधरीले विश्वासको मत पाएका थिए । हाल कांग्रेस, नागरिक उन्मुक्ति, जसपा, लोसपा र जनमत सरकारमा छन् ।

लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, सभामुख बाहेक माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्तीका ४/४ जना सांसद छन् । तर राप्रपाका जानकीलाल यादव भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बित छन् । जनता समाजवादी, लोकतान्त्रिक समाजवादी र जनमत पार्टीका ३/३ जना सांसद छन् भने एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १/१ जना सांसद छन् यस्तै एक जना स्वतन्त्र सांसद छन् ।

माओवादी केन्द्र बाहिरिएपछि वर्तमान सरकार अल्पमतमा छ । एमाले, माओवादी केन्द्र, जसपा, नागरिक उन्मुक्ती पार्टी र एकीकृत समाजवादी पार्टी हुँदा नयाँ समीकरण अनुसार बनेको गठबन्धनको बहुमत पुग्ने देखिन्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.