बागेश्वरी मन्दिरमा तामाको छाना

चैत्र १४, २०८० |रासस
बागेश्वरी मन्दिरमा तामाको छाना

बाँके । नेपालगन्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको छानामा ताम्रपत्र लगाइएको छ । छानामा धेरै पहिले राखिएको टायल जीर्ण भई खस्न थालेपछि ताम्रपत्रले छाउने काम भएको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जानकारी दिए ।

‘बागेश्वरी मन्दिरको छानामा वास्तुशास्त्र मिल्ने र टिकाउ पनि हुने भएकाले छानामा ताम्रपत्र लगाएका छौं,’ उनले भने, ‘ताम्रपत्रको छानो लगाउँदा लागत सोचेभन्दा धेरै भएपनि सौन्दर्य र टिकाउ हुनेछ ।’

करिब ७५ लाख रुपैयाँमा बागेश्वरी मन्दिरको छानामा ताम्रपत्र लगाउने काम भएको बागेश्वरी मन्दिर व्यवस्थापन समितिका सदस्य एवं मन्दिर सौन्दर्यीकरण उपभोक्ता समितिका सचिव नारद पुरीले जानकारी दिए ।

उनका अनुसार मन्दिरको छानो ताम्रपत्रले छाउने काम अन्तिम चरणमा पुगेको छ । नेपालगन्ज २ मा रहेको बागेश्वरी मन्दिर हिन्दु धर्मावलम्बीको पवित्र तथा महत्त्वपूर्ण धार्मिकस्थलका रुपमा मानिन्छ । नेपाल र भारतका विभिन्न स्थानबाट यहाँ भक्तजन दैनिक आउने गर्छन् ।

बागेश्वरीको दर्शनबाट प्रमुख शक्तिपीठका रुपमा रहेको बागेश्वरीमा विजयादशमीको समयमा दर्शनार्थीको भिड हुने गरेको मन्दिरका मूल महन्त चन्द्रनाथ योगीको भनाइ छ । उनका अनुसार यहाँ सतीदेवीको जिब्रो पतन भएकाले साक्षात् देवीको बास छ । जनश्रुतिअनुसार बागेश्वरीमा सतीदेवीको जिब्रो पतन भएकाले सुरुमा वाक्येश्वरी, त्यसपछि बाग्येश्वरी हुँदै बागेश्वरी भएको विश्वास गरिन्छ ।

पछिल्लोपटक बागेश्वरी मन्दिरमा प्रत्येक सोमबार गरिने महाआरतीमा नेपालगन्जका बासिन्दालगायत टाढाटाढाबाट श्रद्धालु भक्तजन सहभागी हुने गर्छन् ।