काठमाडौं । हिमाल, पहाड तथा चुरे क्षेत्रका समुदायको खानेपानी, पशुपक्षी, कृषि, जैविक विविधता, पर्यटन तथा तीर्थाटन र सांस्कृतिक पर्वहरू मूल र मुहानमा आधारित छन् । यी पानीका स्रोत मात्र होइनन्, जलवायु र वातावरण परिवर्तनका संकेत पनि हुन् । चार महिना भारी वर्षा हुने र बाँकी आठ महिना सुक्खा हुने नेपालमा बाह्रैमहिना पानी उपलब्ध गराउन मुहानको पानी अत्यावश्यक छ । तर पछिल्ला दिनमा मुहानमा पानीको मात्रा घट्ने र सुक्ने क्रम बढ्दो छ ।
घरैको छेउमा एक अँगालोको मुहान देखेका ताप्लेजुङको नाङखोल्याङ निवासी धनबहादुर गुरुङले २० वर्षको अन्तरालमा पानी सुक्नै लागेको देखेका छन् । २०७२ सालको भूकम्प र सडक खन्न गाउँमा स्काभेटर मेसिन चलाउन थालेपछि मुहानहरु एकपछि अर्को सुक्दै गएको उनको अनुभव छ ।
एक दशक अघिसम्म पनि पानीका ठुल्ठुला मुहान भएको ठाउँमा अहिले तिरतिरे पानी मात्रै छ भने हिउँदमा खोला खोल्सा रसाउन मुस्किल हुन्छ । नौवटा स्थानीय तहमा ६१ वटा वडा रहेको ताप्लेजुङमा दशक अघिसम्म पानीको समस्या कहिपनि खासै थिएन । पछिल्ला दिनमा मूलको पानीमा समस्या भएको स्थानीय बताउँछन् ।
पहाडी भेकको भौगोलिक विकटता र बस्ती माथिल्लो भागमा र खोला तल्लो भागबाट बग्ने भएकाले मुहान सुकेपछि खोलाको पानीमा निर्भर हुने अवस्था छैन । लिफ्टिङ प्रविधिको प्रयोग सहज छैन । एक त यो प्रविधि महँगो छ, अर्को त्यसको सञ्चालन पनि झन्झटिलो छ । त्यसैले पहाडी बस्तीका लागि स्थानीय मुहान नै एकमात्र सस्तो र सुलभ विकल्प हो ।
समस्या तराईमा पनि उस्तै छ धनुषा, महोत्तरी, सिरहा, सप्तरीलगायत तराई मधेशका जिल्लाहरुमा गर्मी मौसम सुरु हुनेबित्तिकै पानीका मुख्य स्रोत पोखरी, तलाउ कुवा र कुलोहरु सुक्न थालेका छन् । चुरे क्षेत्रमा हुने जथाभावी दोहन रोक्ने र स्रोत संरक्षण गर्नुपर्ने पानीविज्ञ उदेश्वरलाल दासको सुझाव छ ।
तीन दशक अघिसम्म पानीका मुख्य स्रोतहरू वर्षमा एकपटक सफाइ गरिन्थ्यो तर अहिले सफाइको काम हुनसकेको छैन भने पोखरीहरु सिमेन्ट लगाएर पक्की गरेपछि पानीको पुनर्भरण हुन सकिरहेको छैन । पहिलेका खानेपानीका मुख्य स्रोत कुवा र पोखरीहरु हाल प्रयोगविहीन मात्रै भएका छैनन् सुक्दै पनि गएका छन् ।