सुक्खा पहिरोले जाजरकोटमा ४ पालिकाको यातायात ठप्प

चैत्र ५, २०८० |सरोज वली
सुक्खा पहिरोले जाजरकोटमा ४ पालिकाको यातायात ठप्प

जाजरकोट । पश्चिम जाजरकोटको सडक सोमबार बिहान गएको सुक्खा पहिरोले अवरुद्ध भएको छ । सडकभन्दा माथिबाट आएको सुक्खा पहिरोले सडक अवरुद्ध गरेको हो ।

शिवालय गाउँपालिका १ को मोर्क बजार र सालतराको बीच भागमा सोमबार बिहान आएको सुक्खा पहिरोले पश्चिम जाजरकोटको सडक पूर्ण रुपले अवरुद्ध भएको स्थानीय पूर्णसमीर महतराले जानकारी दिए । महतराका अनुसार पहिरो गएको ६ घण्टाको समय बितिसक्दा पनि पहिरो हटाएर यातायातका साधन सञ्चालनमा ल्याउन सकिएको छैन ।

पहिरोबाट अवरुद्ध भएको सडकमा मोटरसाइकल, जिप, गाडी, ट्रकलगायत कुनै पनि सवारीसाधन सञ्चालनमा आउन सकेका छैनन् । सडक अवरुद्ध भएपछि पश्चिम जाजरकोटमा रहेको शिवालय गाउँपालिका, छेडागाड नगरपालिका, जुनीचाँदे गाउँपालिका र कुशे गाउँपालिकाका बासिन्दाको आवागमन रोकिएको छ । चार पालिकाबाट जिल्ला सदरमुकाम खलंगा, नेपालगन्ज, सुर्खेत, काठमाडौंलगायत स्थानमा जाने यात्रु प्रभावित भएका छन् ।

पहिरोले गर्दा पश्चिम जाजरकोटको मोर्क, खारा, मनघाट, थलह, बाटुल्यालगायत बजारमा ढुवानी गरिने दैनिक उपभोग्यवस्तु, सिमेन्ट, सरिया आदि निर्माण सामाग्री पनि ढुवानी गर्न असर परेको छ । पहिरो हटाउन अहिलेसम्म सुरक्षा निकाय नपुगे पनि सोही पालिकाका वडाध्यक्ष नरबहादुर रानाले डोजरको व्यवस्था गरेर बाटो खुलाउने प्रयास भइरहेको र पूर्ण रुपमा बाटो सञ्चालनमा आउन केही समय लाग्ने जनाएका छन् ।


Image

सरोज वली

वली कान्तिपुर टेलिभिजनका जाजरकोट प्रतिनिधि हुन् ।