रारामा हिमपात, बेसीमा झरी !

फाल्गुन २०, २०८० |राजबहादुर शाही
रारामा हिमपात, बेसीमा झरी !
मुगुको रारामा परेको हिउँ । तस्बिर : राजबहादुर शाही/कान्तिपुर

काठमाडौं । मुगुको पर्यटकीय गन्तव्य रारामा हिउँ परेको छ भने बेसीमा झरी परेको छ । समुद्री सतह देखि २९ सय २९ मिटर उँचाइमा अवस्थित रारालगायत आसपासका क्षेत्रमा हिमपात भएको र बेसीतर्फ यस वर्षकै अहिलेसम्मको ठूलो झरी परेको छ ।

शुक्रबारबाट मौसम परिवर्तन भई शनिबार बिहानैदेखि झरी सुरु भएपछि रारा, मुर्मा, मुन्दु, झ्यारी, घुच्चीडाब, घट्टलेख, खमाले, मुगु किम्री, चितै, डोल्फूलगायत क्षेत्रमा हिमपात भएको र गमगढी, रोवा, माग्री, खत्याड गम्थालगायत बेसीतर्फ निरन्तर झरी परेको छ ।

रारामा ५ इन्च हिउँ जमेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयकी रेन्जर हिमाली खत्रीले जानकारी दिइन् । फागुनमा रारामा हिउँ परेपछि घुम्न आएका पर्यटक उत्साहित भएको उनको भनाइ छ । रारा हिउँले सेताम्मे देखिएको छ ।

गत असोजदेखि राम्रोसित वर्षा र हिमपात नभएको मुगुमा फागुनदेखि हिमाली क्षेत्रमा हिमपात र बेसीतर्फ झरी निरन्तर पर्न थालेको हो । शनिबार राति मुर्मा गाउँमा आधा फिट हिउँ परेको छायानाथ रारा नगरपालिका-९ मुर्मा गाउँका दीपबहादुर रोकायाले सुनाए । उनले भने, ‘शनिबार दिनभरको झरीसँगै राति हिउँले गाउँ सेताम्मे भएको छ ।’

फागुन महिनामा हिउँ गाउँ सेताम्मे भएपछि मुर्माबासी उत्साहित भएका छन् । जिल्लाको सोरु, खत्याड, मुगुम कार्मारोङ गाउँपालिका र छायानाथ रारा नगरपालिकाको लेकदेखि बेसीसम्म निरन्तर झरी परेको छ ।

स्याऊ आरु ओखरलगायत फलफूल फुल्ने र कोपिला लाग्ने बेला र जेठको बाली जौ/गहुँ पसाउने समयसँगै चैते बाली लगाउने समयमा झरी र हिमपातले किसानलाई राहत भएको छ । दुई दिन देखिको लगातार झरी र हिमपातले गमगढी नाग्मा सडक अवरुद्ध भएको छ । रारा विमानस्थलको हवाई सेवा पनि प्रभावित भएको छ ।

तस्बिर क्याप्सन :

मुगुको रारामा परेको हिउँ र झरीमा छाता ओढेर गन्तव्यतर्फ हिँड्दै स्थानीय । तस्बिर : राजबहादुर शाही/कान्तिपुर 


Image

राजबहादुर शाही

शाही कान्तिपुर टेलिभिजनका मुगु संवाददाता हुन् ।