जग्गा र बजेट व्यवस्थापन नहुँदा कार्यान्वयन भएनन् तोकिएका पूर्वाधार

फाल्गुन १७, २०८० |कान्तिपुर टीभी संवाददाता
जग्गा र बजेट व्यवस्थापन नहुँदा कार्यान्वयन भएनन् तोकिएका पूर्वाधार

धनकुटा । आवश्यक जग्गा र बजेट व्यवस्थापन नहुँदा सहरी विकास मन्त्रालयमार्फत धनकुटा नगरपालिकाका लागि तोकिएका पूर्वाधार निर्माण योजना कार्यान्वयनमा समस्या भएको छ ।

जग्गाको टुंगो नलाग्दा धनकुटा नगरपालिकामा ६० लाख रुपैयाँ लागतमा बन्ने भनिएको नयाँ व्यवसाय सुरुवात गर्न चाहने युवा व्यवसायीका लागि व्यापारिक भवन निर्माणको काम अघि बढ्न सकेको छैन । यस्तै आयोजनास्थल छनोट नहुँदा धनकुटा बजार क्षेत्रमा ढल व्यवस्थापनको काम पनि रोकिएको छ । ढल व्यवस्थापनका लागि सहरी विकास मन्त्रालयबाट ५० लाख रुपैयाँ बजेट स्वीकृत भएको छ ।

मागबमोजिम बजेट विनियोजन नभएकैले धनकुटा सभाहल निर्माणको काम पनि सुरु भएको छैन । १८ करोड रुपैयाँ लागतको धनकुटा सभाहल निर्माणका लागि चालु आर्थिक वर्षमा मन्त्रालयले जम्मा ७० लाख रुपैयाँ विनियोजन गरेको छ ।

धनकुटा सभाहल निर्माणको योजना कटौती भए पनि नयाँ व्यवसायीका लागि व्यापारिक भवन निर्माण र ढल व्यवस्थापनको काम तत्कालै सुरु गरिने धनकुटा नगरपालिकाका प्रशासन योजना तथा अनुगमन अधिकृत सीताराम गौतमले जनाए ।

सहरी विकास मन्त्रालयबाट चालु आर्थिक वर्षमा धनकुटाका लागि २६ वटा पूर्वाधार निर्माण तथा व्यवस्थापन योजनाका लागि बजेट विनियोजन भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.