संसद् भवन परिसरबाट पक्राउ परेका ४९ जनालाई शान्तिविरूद्धको कसुरमा मुद्दा चलाउने तयारी, ७ दिन हिरासतमा राख्न अनुमति

फाल्गुन १५, २०८० |कान्तिपुर टीभी संवाददाता
संसद् भवन परिसरबाट पक्राउ परेका ४९ जनालाई शान्तिविरूद्धको कसुरमा मुद्दा चलाउने तयारी, ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । संसद् भवन परिसरबाट पक्राउ परेका ४९ जनालाई शान्तिविरुद्धको कसुरमा ७ दिन म्याद थप गरिएको छ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा हिजो अचानक प्रवेश गरी नाराजुलुस गरेका ४९ जना लघुवित्तपीडितलाई प्रहरीले पक्राउ गरेको थियो । थुनामा रहेका ४९ जना लघुवित्तका ऋणीमाथि प्रहरीले सार्वजनिक शान्तिविरूद्धको कसुरमा मुद्दा चलाउने भएको हो ।

आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले उनीहरुविरुद्ध मुद्दा चलाउने निर्णय गरेको हो । उनीहरुलाई कुन कसुर लगाउने भन्ने निर्णय भइसकेको छैन । कसुरबारे प्रहरीले सरकारी वकिलसँग छलफल गर्ने निर्णय भएको छ ।

यस्तै संसद भवन, सिंहदरबार, राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालय अगाडिको सडकपेटीबाट हिँड्न निषेध गर्ने निर्णय पनि बैठकले गरेको छ । सिंहदरबार र संसद् भवन आसपासमा डोरी टाँगेर सर्वसाधारणलाई पेटीबाट हिँड्न दिइएको छैन । सर्वसाधारण सडकबाटै हिँडिरहेका छन् ।

सिंहदरबार प्रवेशका लागि नयाँ मापदण्ड र प्रविधिको प्रयोग गर्ने निर्णय पनि बैठकले गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.