सुरक्षा घेरा तोडेर आखिर कसरी संसद् भवनमा प्रवेश गरे प्रदर्शनकारी ?

फाल्गुन १४, २०८० |प्रकाश बम
सुरक्षा घेरा तोडेर आखिर कसरी संसद् भवनमा प्रवेश गरे प्रदर्शनकारी ?

काठमाडौं । सुरक्षा व्यवस्था अत्यन्त मजबुत हुने राज्यका निकायहरुमध्येको एक हो, संसद् भवन । सांसद, मन्त्री, संसद् सचिवालयका कर्मचारीबाहेक प्रक्रिया पुर्‍याएर अरू मानिस पनि संसद् भवन प्रवेश गर्न त पाउँछन् तर भवन प्रवेश गर्न सजिलो भने छैन । यस्तो स्थानमा सोमबार दिउँसो एकाएक प्रदर्शनकारी कसरी प्रवेश गरे ?

संसद् भवनको सुरक्षामा सशस्त्र र नेपाल प्रहरीका गरी दैनिक करिब १ सय जना सुरक्षाकर्मी परिचालन हुन्छन् । परिस्थिति हेरेर थपघट पनि हुन्छ । संसद् बैठकमा थप १ सय ५० मर्यादापालक छन् तर बाहिरको सबै सुरक्षा जिम्मेवारी सशस्त्र र नेपाल प्रहरीको हो । भवनको चारैतिर सुरक्षा पोस्ट राखिएका छन् । २४ सै घण्टा यो पोस्टमा सुरक्षाकर्मी तैनाथ हुन्छन् । सोमबार संसद् भवनको सुरक्षामा ८३ जना सुरक्षाकर्मी परिचालित थिए ।

संसद् भवनमा प्रवेश गर्ने मुख्य तीन वटा द्वार छन् । एक नम्बर प्रवेशद्वारबाट राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभाका अध्यक्ष तथा प्रधानमन्त्री र उपप्रधानमन्त्रीलाई मात्र आवतजावत गर्न दिइन्छ ।

सांसद र संसद् सचिवालयका कर्मचारी प्रवेश गर्नका लागि २ नम्बर द्वार प्रयोग हुन्छ । सोमबार लघुवित्तपीडित प्रदर्शनकारी यहीद्वाराबाट प्रवेश गरे ।  त्यसैगरी तीन नम्बर प्रवेशद्वारबाट सांसद, सांसदका सहयोगी, संसद् सचिवालयले जारी गरेको प्रवेश पास भएका सञ्चारकर्मी र सचिवालयले जारी गरेको पासप्राप्त आगन्तुकलाई प्रवेश दिइन्छ । 

जुनसुकै द्वारबाट प्रवेश गरे पनि संसद् भवनको परिसरमै पुग्न पनि दुई तहको सुरक्षा जाँच पार गर्नुपर्छ । नेपाल प्रहरी र प्रहरी केन्द्रीय विशेष कार्यदलले जाँच गरेपछि मात्रै भवन परिसरमा पुग्न सकिन्छ । आगन्तुकहरूले नागरिकता देखाएर र नाम टिपेर मात्रैभित्र प्रवेश पाउँछन् ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।