सरकार र मिटरब्याजीपीडितबीच पहिलो चरणको वार्ता सकारात्मक

फाल्गुन १३, २०८० |कान्तिपुर टीभी संवाददाता
सरकार र मिटरब्याजीपीडितबीच पहिलो चरणको वार्ता सकारात्मक

काठमाडौं । सरकार र मिटरब्याजीपीडितबीच पहिलो चरणको वार्ता सकारात्मक भएको दुवै पक्षको भनाई छ ।

गृह मन्त्रालयले आज मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिलाई पत्र लेखेर  वार्तामा बोलाएको हो । त्यसअघि आजै अध्यक्ष अवधेश कुशवाहालाई पत्र लेखेपछि संघर्ष समितिले व्यक्तिगत बोलाएको भन्दै असन्तुष्टि जनाएको थियो । त्यसपछि सरकारले पुन समितिका नाममा पत्र पठाएपछि आज पहिलो चरणको वार्ता भएको हो । 

गृह मन्त्रालयले सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता समिति बनाएको थियो।  गृहले पत्रमा मिटरब्याजसँग सम्बन्धित समस्या समाधान लागि कानुन संशोधन, अधिकारसम्पन्न आयोग गठन, दुवै पक्षबीच मेलमिलाप गराउने र सहमति नभएका विषयमा कानुनबमोजिम मुद्दा दर्ता गर्नेलगायतका जिम्मेवारी नेपाल प्रहरीलाई प्रदान गर्ने विषय उल्लेख गरेको छ । 

अधिकारसम्पन्न आयोग गठन गर्नुपर्नेलगायतका ६ बुँदे माग राख्दै २३ दिन लगाएर काठमाडौं आइपुगेका मिटरब्याजपीडितले ५ दिनदेखि प्रदर्शन गरिरहेका छन् । वार्ता पुनः भोली बिहान ११ बजे बस्ने भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.