लोप हुने जोखिममा ४० भन्दा बढी भाषा (रिपोर्ट)

मातृभाषालाई कामकाजको भाषा बनाउने संवैधानिक व्यवस्था कार्यान्वयन भएन
जोगाउन परिवार नै जिम्मेवार बन्नुपर्ने
फाल्गुन ९, २०८० |अवतार राई
लोप हुने जोखिममा ४० भन्दा बढी भाषा (रिपोर्ट)

काठमाडौं । विश्वमा अहिले सात हजारभन्दा बढी मातृभाषा छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा बोलीचालीका १२४ भाषा छन् । ४० भन्दा बढी भाषा त लोपोन्मुखमा परेका छन् अर्थात् यी भाषा बोल्नेको संख्या न्यून छ । मातृभाषा संरक्षणमा जुटेकाहरुले राज्यले अवसर सिर्जना नगरे निकट भविष्यमा धेरैजसो भाषा लोप हुने बताउँछन् ।

तत्कालीन पूर्वी पाकिस्तानको ढाका विश्वविद्यालयमा सन् १९५२ मा बंगाली भाषा आन्दोलन सुरु भएको दिनलाई संयुक्त राष्ट्रसंघले सन् २००२ मा अन्तर्राष्ट्रिय मातृ भाषा दिवसको मान्यता दिएको थियो । त्यसपछि विश्वभर नै फेब्रुअरी २१ लाई मातृभाषा दिवसको रुपमा मनाइन्छ ।

नेपालमा सबैभन्दा बढी ४५ प्रतिशत जनसंख्याको मातृभाषा नेपाली हो । त्यसपछि बोलीचालीमा आउने दोस्रो मैथिली भाषा हो । यो संख्या ११ प्रतिशत जनसंख्याले बोल्छन् ।

नेपालमा १२४ वटा मातृ भाषा छन् । तर ४० भन्दा धेरै मातृभाषा लोप हुने अवस्थामा पुगेका छन् । कुसन्डा, दुरा, लुंखिम, तिलुङ, बराम, कागते, काइके जोङ्खालगायत भाषा बोल्नेको संख्या सयभन्दा कम रहेको भाषाविद् रुद्रलक्ष्मी जोशी श्रेष्ठको भनाइ छ ।

बोलीचाली तथा लेखनको प्राथमिकतामा पर्न छाडेपछि धेरैले आफ्नो मातृभाषा बोल्न त के बुझ्न पनि छाडिसके । जबकि मातृभाषा संरक्षणको मुख्य दायित्व परिवार अर्थात् आमा-बुबाको हो । उनीहरुले नानीहरुलाई आफ्नो मातृभाषा परिवारमा बोलेर भएपनि सिकाउनै पर्छ । राज्यले भने भाषाको संरक्षणका लागि भाषा आयोग नै गठन गरेको छ ।

संविधानले सवै मातृभाषालाई राष्ट्रभाषाको मान्यता दिएको छ । सरकारी निकायमा समेत मातृभाषा प्रयोग गर्न सकिने भनिएको छ । यसैको अभ्यास गर्दै बागमती प्रदेशले नेवारी र तामाङ भाषालाई प्रदेश सरकारको भाषा बनाउने गरी निर्णय गराइसकेको छ । अन्य प्रदेशसमेत छलफलमा छन् । यता कतिपय स्थानीय तहले मातृभाषालाई प्रयोगको भाषा बनाउनेबारे छलफल गरे पनि प्रयोगमा ल्याएका छैनन् । 


Image

अवतार राई

राई कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।