दुई महिनाभित्रै कांग्रेसमा नियमित महाधिवेशन सम्भव छ त ?

आश्विन २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
दुई महिनाभित्रै कांग्रेसमा नियमित महाधिवेशन सम्भव छ त ?

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको चार वर्षको कार्यकाल आगामी मंसिर २८ गते सकिँदै छ । 

मंसिरभित्रै महाधिवेशन गराउन पार्टी पदाधिकारीमा सहमति नभएपछि ५३ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर नै बुझाएका छन् । ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरे तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यकारी व्यवस्था विधान छ । 

अब सके नियमित र नसके विशेष महाधिवेशन गर्नैपर्ने बाध्यतामा कांग्रेस नेतृत्व पुगेको छ । के अबको दुई महिनाभित्रै कांग्रेसमा नियमित महाधिवेशन सम्भव छ त ? नेपाली कांग्रेसमा नियमित महाधिवेशन गर्ने प्रक्रिया यति जटिल छ कि सबै प्रक्रिया पूरा गर्न कम्तिमा ८ महिना लाग्छ । 

विधानको व्यवस्था निलम्बन नगर्ने हो मंसिरमा महाधिवेशन सम्भव देखिँदैन । तर, नेता शेखर कोइराला, महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरू कार्यसमितिको अवधि थप नगरी मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने अडानमा छन् । 

महामन्त्री थापाले केन्द्रीय कार्यसमितिको बैठकमा नियमित महाधिवेशनको प्रस्ताव नै लैजाने तयारी गर्नुभएको छ । तर पदाधिकारीमा सहमति जुट्न नसकेकाले ५३ प्रतिशत महाधिवेशन प्रतिवेदनले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर नै बुझाएका छन् । 

नियमित महाधिवेशन हुन नसकेको खण्डमा मात्रै विशेष महाधिवेशनको बटम लाइन राखेका छन् । कांग्रेसका ४ हजार ७ सयभन्दा बढी महाधिवेशन प्रतिनिधि छन् । अब ३ महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने बाध्यता छ ।

विशेष महाधिवेशन भए पुरानै प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्ने छन् । तर नियमित महाधिवेशन गर्ने हो भने महाधिवेशन प्रतिनिधि पनि नयाँ चयन हुने छन् । तर दुई महिनाभित्र नियमित महाधिवेशन गर्न कांग्रेसमा धेरै काम गर्न बाँकी छ । अहिलेसम्म २५ जिल्लाको मात्रै क्रियाशील सदस्यता नवीकरण टुंगिएको छ । 

नयाँ क्रियाशील सदस्यता वितरण सुरू भएकै छैन । क्रियाशील सदस्यताको विवाद १२औँ महाधिवेशनदेखिकै सुल्झिएको छैन । चार वर्षअघि भएको १४औँ महाधिवेशनका बेला कांग्रेसमा ८ लाख ८२ हजार ८ सय १६ जना क्रियाशील सदस्य कायम गरिएको थियो । 

क्रियाशील सदस्यताबाटै चुनिने प्रतिनिधिहरूबाट वडा, पालिका हुँदै प्रदेश, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला हुँदै प्रदेश र केन्द्रको अधिवेशन हुन्छ । तर यसको प्रक्रिया भने निकै लामो छ । जसका लागि ८ महिनाभन्दा बढी समय लाग्न सक्छ । यति हुँदा पनि अहिलेको अवस्थामा तीन महिनाभित्रै नियमित महाधिवेशन गर्न सकिने दाबी नेताहरूको छ ।

सबै प्रक्रिया पूरा गर्ने हो भने मंसिरमा महाधिवेशन कठिन देखिन्छ । तर विशेष महाधिवेशन गर्ने हो भने पनि पुरानै महाधिवेशन प्रतिनिधिबाट नेतृत्व चयन गर्नुपर्ने बाध्यता छ । यसरी विशेष महाधिवेशन गर्दा कांग्रेसका जेन–जी युवा नेतृत्व चयनमा सहभागी हुनबाट बञ्चित हुने छन् । 

सभापति शेरबहादुर देउवाले कार्यकारी भूमिकाबाट विश्राम लिइसकेको अवस्था र युवाको सहभागिता बढाउँदै नयाँ नेतृत्व चयनमा के गर्ने भन्ने अन्योलमा कांग्रेस पुगेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.