क्या कन्फ्युजन, खुलामञ्च खुला कि बन्द ?

खुलामञ्चलाई खेलमैदान बनाउने निर्णयबाट पछि हट्यो काठमाडौं महानगर
फाल्गुन ४, २०८० |श्रृजना बास्तोला
क्या कन्फ्युजन, खुलामञ्च खुला कि बन्द ?

काठमाडौं । खुलामञ्च मासेर फुटबल मैदान बनाउन प्रक्रिया अगाडि बढाएकामा चौतर्फी विरोध भएपछि काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले निर्णयको प्रतिरक्षा गरेका छन् । उनले हिजो सामाजिक सञ्जालमार्फत यसअघि आएका समाचार नै भ्रामक भन्दै खुलामञ्च मात्रै नभई टुँडिखेलसमेत सबैका लागि खुला हुने स्पष्ट पारेका छन् । तर, काठमाडौं महानगरपालिकाले भने यसअघिको योजनाअनुरुपै फुटबल मैदान निर्माणको प्रक्रिया अघि बढ्ने जनाएको छ ।

काठमाडौं महानगरपालिकाले उपभोक्ता समितिमार्फत खुलामञ्चमा दुईवटा फुटबल ग्राउन्ड बनाउने तयारी गरेको छ । यसका लागि महानगरको सहरी योजना आयोगले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत बनाइसकेको छ भने खेल सामग्री र प्लास्टिकको दुबोका लागि बोलपत्रसमेत माग गरिसकेको छ । तर खुलामञ्चलाई निश्चित प्रयोजनका लागि मात्रै विकास गर्न खोजिएको भन्दै चौतर्फी आलोचना भयो । साथै खुलामञ्च बचाऊ अभियान पनि सञ्चालन भइरहेको छ ।

यही विरोधका बीच नगरप्रमुख शाह महानगरको प्रतिरक्षामा उत्रिए । उनले बिहीबार सामाजिक सञ्जालमार्फत यसअघि भ्रम सिर्जना गरिएको आरोप लगाउँदै खुलामञ्च सबैका लागि खुला हुने प्रतिबद्धता जनाए । तर काठमाडौं महानगरले भने यसअघिकै डीपीआरअनुसार काम अघि बढ्ने जनाएको छ । महानगरका सहायक प्रवक्ता दीपक अधिकारी र सहरी योजना आयोगका उपाध्यक्ष सुमननरसिंह राजभण्डारीले डीपीआरअनुसारै उपभोक्ता समितिमार्फत फुटबल मैदान निर्माणको काम अघि बढ्ने जानकारी दिए ।

खुलामञ्च फुटबल मैदानमा मात्रै सीमित नभई अन्य सार्वजनिक कामका लागि पनि खुला गरिने उनको भनाइ छ । नगरप्रमुखको पछिल्लो धारणाबारेमा खुलेर बोल्न महानगरका अधिकारीहरु कोही पनि तयार भएनन् । प्रवक्ता नवीन मानन्धरसँग पनि हामीले सम्पर्कको प्रयास गरेका थियौं, उनी पनि उपलब्ध भएनन् । तर, यसअघि प्रवक्ता मानन्धरले डीपीआर अनुसारै खुलामञ्चमा निर्माण अघि बढ्ने र त्यसका लागि करिब पाँच करोड लाग्ने बताएका थिए ।

यसैबीच खुलामञ्चलाई व्यायम तथा खेलकुदस्थलका रुपमा सुधार गर्ने भन्दै एक करोड विनियोजन भएको सम्बन्धमा वडा नम्बर २८ ले आपत्ति जनाउँदै सार्वजनिक निर्माण विभागको ध्यानाकर्षण गराएको थियो । खुलामञ्च निर्वाध रुपमा सबैका लागि खुला हुनुपर्ने वडा कार्यलयको समेत माग छ । खुलामञ्चलाई निश्चित प्रयोजनका लागि छुट्याएपछि अन्य कार्यक्रम र सर्वसाधारणको सहज पहुँच नपुग्ने सरोकारवालाको भनाइ छ ।

महानगर प्रमुख शाहले खुलामञ्च मात्र नभई टुँडिखेल नै खुला गर्ने प्रक्रिया अघि बढेको र यो विषय सञ्चारमाध्यम र अभियन्ताको नजरमा नपरेको भन्दै गुनासोसमेत गरेका छन् । यसका साथै बिहानै मर्निङ वाक गर्न, ध्यान-योग गर्न, बालबालिकाले खेल्न, दिउँसो भलाकुसारी गर्न र प्रदर्शन तथा रचनात्मक कार्य गर्न पाउने गरी निर्माणको योजना रहेको बताएका छन् । त्यसलाई सार्थक बनाउन खुलामञ्चमा थुप्रिएको १० लाख केजीभन्दा बढी कंक्रिट हटाउने काम सकाएको र खुलामञ्च सहज बनाउने प्रक्रियाको अर्को चरणमा रहेको दाबी गरेका छन् ।

खुलामञ्च सर्वसाधारणका लागि खुला गर्ने महानगर प्रमुख शाहको प्रतिबद्धता र फुटबल मैदान बनाउने योजनाअनुरुपै काम अघि बढ्ने महानगर अधिकारीहरुको भनाइले थप अन्योल सिर्जना भएको छ । 


Image

श्रृजना बास्तोला

बास्तोला कान्तिपुर टेलिभिजनकी संवाददाता हुन् ।