ललितानिवास जग्गा हिनामिना प्रकरण : पूर्वमन्त्री चन्द्रदेव जोशी र पूर्वसचिव दिनेशहरि अधिकारीलाई सफाइ

फाल्गुन ३, २०८० |कान्तिपुर टीभी संवाददाता
ललितानिवास जग्गा हिनामिना प्रकरण : पूर्वमन्त्री चन्द्रदेव जोशी र पूर्वसचिव दिनेशहरि अधिकारीलाई सफाइ

काठमाडौं । विशेष अदालतले काठमाडौंको बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिनासम्बन्धी प्रकरणमा पूर्वमन्त्री चन्द्रदेव जोशी र पूर्वसचिव दिनेशहरि अधिकारीलाई सफाइ दिएको छ ।

यसैगरी विशेष अदालतले तत्कालीनमन्त्रीद्वय विजयकुमार गच्छदार र डम्बर श्रेष्ठलाई पनि सफाइ दिएको छ ।

यो प्रकरणका मुख्य आरोपी हाटकशमशेर राणासहित १२ जनालाई भने दोषी ठहर्याएको छ । विशेष अदालतले राणासहित १२ जनालाई ९ करोड रुपैयाँ बिगो र २ वर्ष कैदको फैसला सुनाएको छ ।

विशेष अदालतको फैसला सुनाउँदै प्रवक्ता धनबहादुर कार्कीले ललितानिवास जग्गा हिनामिना प्रकरणमा ६५ जना व्यक्तिका नाममा रहेका जग्गा जफत गर्ने निर्णयसमेत भएको जनाए ।

विशेष अदालतले ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुख्य योजनाकार रामप्रसाद सुवेदी र शोभाकान्त ढकाललाई पनि सजाय सुनाएको छ ।

यसैगरी अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात र पूर्वसचिव छविलाल पन्तलाई २ वर्ष कैद र जनही ८० लाख ४८ हजार जरिवानाको फैसला सुनाएको छ ।

अख्तियारले दायर गरेको यो अहिलेसम्मकै ठूलो भ्रष्टाचारको मुद्दा हो ।

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा अख्तियारले चार वर्षअघि अर्थात् २०७६ माघ २२ गते १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । ललिता निवासको ११३ रोपनी सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा अख्तियारले चार मन्त्री र तीन पूर्वसचिवसहित ११० जनालाई बिगो र जरिवाना तथा ६५ जनालाई जग्गा जफत गर्ने प्रयोजनका लागि मुद्दा दायर गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.