सगरमाथा आरोहणबाट फर्किंदा फोहोर पनि सँगै फिर्ता ल्याउनुपर्ने

माघ २९, २०८० |कान्तिपुर टीभी संवाददाता
सगरमाथा आरोहणबाट फर्किंदा फोहोर पनि सँगै फिर्ता ल्याउनुपर्ने

सोलुखुम्बु । सगरमाथा र आसपासका हिमाल चढ्ने आरोहीले आफूले गरेको फोहोरसँगै फिर्ता ल्याउनुपर्ने भएको छ । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले जारी गरेको आधार शिविर व्यवस्थापन कार्यविधि, २०८० मा यस्तो व्यवस्था गरिएको हो ।

मानवीय गतिविधिबाट सिर्जित जलवायु परिवर्तनका असरले हिमाली क्षेत्रको जीविकोपार्जनमा असर पुर्याउन थालेपछि खुम्बु गाउँपालिकाले स्थानीय तहको अधिकार प्रयोग गर्दै कार्यविधिको व्यवस्था गरेको हो ।

कार्यविधिअनुसार अब आरोहीले हिमाल चढ्ने क्रममा आफूले गरेको दिसा-पिसाब फिर्ता ल्याउनुपर्नेछ । आरोहीको फोहोरको बिसर्जनका लागि आधार शिविरभन्दा माथि अनिवार्य रूपमा ‘पुप ब्याग’ अथवा ‘बायोडिग्रेडेबल ब्याग’ को प्रयोग गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

सगरमाथा, ल्होत्से र न्हुप्त्सेबाट हरेक आरोहीले आठ किलो र अमादब्लमबाट तीन किलो फोहोर अनिवार्य आधार शिविरमा झार्नुपर्ने कार्यविधिमा उल्लेख छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका क्षेत्रभित्र सगरमाथासहित ल्होत्से, नुप्त्से र आमादब्लम हिमाल पर्छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.