‘अफ्रिकन स्वाइन फिभर’ले किसानका बंगुर मरे, पुगेनन् प्राविधिक

माघ २९, २०८० |आश गुरुङ
‘अफ्रिकन स्वाइन फिभर’ले किसानका बंगुर मरे, पुगेनन् प्राविधिक

लमजुङ । अफ्रिकन स्वाइन फिभरले लमजुङका गाउँमा भकाभक बंगुर मर्न थाले पनि प्राविधिकहरु किसानकहाँ पुगेका छैनन् । बंगुर मर्न थालेको सात दिनमा पनि पशु चिकित्सक र प्राविधिक नपुग्दा किसान चिन्तित छन् । उच्च मृत्युदर भएको खतरनाक महामारीजन्य यस रोगको संक्रमण फैलिएपछि उपचारका लागि किसानकहाँ पुग्नु पर्ने पशु सेवा प्राविधिक बंगुरजन्य पदार्थ ओसारपसारमा रोक लगाएर ढुक्कले बसेका छन् ।

लमजुङको मध्यनेपाल नगरपालिका ४ स्थित सुरेश बानियाँको बंगुर फर्ममा एक साताअघि मात्र ‘अफ्रिकन स्वाइन फिभर’ कारण पालिएका १२ वटा बंगुर मरेका छन् ।

बानियाँको फर्मसँगै सोही वडाकै बुद्धिबहादुर सुनार र रुपबहादुर कुमालको फर्ममा पालिएका एक/एक बंगुरसमेत मरे । छुट्टाछुट्टै फर्ममा गरी १४ वटा बंगुर ‘अफ्रिकन स्वाइन फिभर’ कारण मरेपछि किसानहरुमा निराशा छाएको छ भने, रोगको संक्रमण फैलनेबारे थप चिन्तित छन् ।

गत वर्ष पनि जिल्लामा ‘अफ्रिकन स्वाइन फिभर’ का कारण एक हजारभन्दा बढी बंगुर मरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङको तथ्यांक छ । केन्द्रका पशु सेवा प्राविधिक सुष्मिता अधिकारीका अनुसार यो रोग महामारीका रूपमा फैलिन सक्ने खतरा बढेपछि पशुधनको नोक्सान हुनबाट जोगाउन, कृषकलाई जैविक सुरक्षा र रोगबारे जनचेतना फैलाउन बंगुर तथा बंगुरजन्य पदार्थ ओसारपसारमा रोक लगाइएको छ ।

‘अफ्रिकन स्वाइन फिभर’ रोग घरपालुवा सुगुर, बंगुर र बँदेल प्रजातिमा जीवाणुका कारण लाग्ने भएकोले समयमै रोकथाम गर्न जरुरी देखिएको छ ।


Image

आश गुरुङ

गुरुङ कान्तिपुर टेलिभिजनका लमजुङ संवाददाता हुन् ।