सरकारका प्रवक्ताले दिए भदौ २३ र २४ को आन्दोलनलाई 'जेन-जी जनआन्दोलन'को नाम

आश्विन ३१, २०८२ |कान्तिपुर टीभी संवाददाता
सरकारका प्रवक्ताले दिए भदौ २३ र २४ को आन्दोलनलाई 'जेन-जी जनआन्दोलन'को नाम

काठमाडौं । सरकारका प्रवक्ता जगदीश खरेलले भदौ २३ र २४ गते भएको आन्दोलनलाई 'जेन-जी जनआन्दोलन'को नाम दिनुभएको छ । 

खरेलले सञ्चारकर्मीसँग कुरा गर्दै युवाहरूले गरेको आन्दोलनलाई जेन-जी जनआन्दोलनका रूपमा सरकारले लिएको बताउनुभएको हो। जेन-जी आन्दोलनमा सहभागीहरूले सरकारसमक्ष भदौ २३ र २४ को आन्दोलनलाई जनआन्दोलन घोषणा गर्न माग गर्दै आएको सरकारका तर्फबाट यस्तो भनाइ आएको हो।

सरकारलाई जेन जीमात्र नभएर विद्यमान राजनीतिक दलहरू र अन्तर्राष्ट्रिय समूदायको समेत समर्थन प्राप्त भएको बताउँदै सञ्चारमन्त्री खरेलले सरकार जेन-जी जनआन्दोलनको जगमा बनेको नागरिक सरकार भएको जिकिर गर्नुभयो।

उहाँले भन्नुभयो, 'यो सरकार के कस्तो, के कसरी भन्दा पनि तपाईँ हामी सबै स्पष्ट छौं । यो सरकार कसरी बन्यो भन्दाखेरि जेन-जी जनआन्दोलनको जगमा बनेको जनताको नागरिक सरकार हो। यसलाई जेन-जीहरूले जेन- जीको सरकार भन्न मिल्यो, यसलाई नागरिकहरूले नागरिकको सरकार भन्न मिल्यो, समग्र जनताहरूले हाम्रो सरकार भन्न मिल्यो।'

मन्त्री खरेलले थप्नुभयो,'त्यतिमात्र होइन, यहाँ रहेका जति पनि राजनीतिक दलहरूको समर्थनमा समेत बनेको सरकार भएको हुँदा सबै राजनीतिक दलको सरकार भन्न पनि मिल्यो। राष्ट्रिय र अन्तर्राष्ट्रिय समर्थनसमेत प्राप्त भएको हुँदा यो सरकार सबैको समर्थनप्राप्त सरकार हो जुन जेन-जी जनआन्दोलनको जगमा बनेको छ।'

'जेन-जी जनआन्दोलनले दिएको म्यान्डेट भन्दै मन्त्री खरेलले निर्वाचन, सुशासन स्थापना र आन्दोलनका क्रममा भएको जनधनको क्षतिका बारेमा अनुसन्धान, कारबाही र पूनर्निर्माणलाई गति दिएको दाबी गर्नुभयो। 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.