दिक्तेलका दुवै बसपार्क प्रयोगमा आउने, बजारमा गाडी पार्किङ गरे कारबाही

माघ २३, २०८० |उत्तम चौलागाईं
दिक्तेलका दुवै बसपार्क प्रयोगमा आउने, बजारमा गाडी पार्किङ गरे कारबाही

खोटाङ । सदरमुकाम दिक्तेलका उपयोगविहीन दुईवटा बसपार्क सञ्चालनमा आउने भएका छन् । आचार्य गाउँकाले १५ र सोल्माका स्थानीयले २० रोपनी निःशुल्क दिएको जग्गामा दुईवटा बसपार्क बनेका थिए । तर, ती बसपार्क उपयोगविहीन अवस्थामा थिए । स्थानीयले करोडौं मूल्यका निःशुल्क जग्गा उपलब्ध गराएपछि संसदीय विकास कोष र शहरी विकास मन्त्रालयको १ करोड ६० लाख रुपैयाँ खर्चेर २०७३ सालमा बनेका यी दुवै बसपार्क आजैबाट सञ्चालनमा आउने भएका हुन् ।

कान्तिपुर टेलिभिजनले केही दिन अघि दिक्तेल बजारमा जथाभावी पार्किङ गरिएको र बसपार्क अलपत्र बनाएर स्थानीय सरकार मुकदर्शक बनेको समाचार प्रशारण गरेपछि जिल्लास्थित सरोकारवालाहरुले आजैबाट बसपार्कमा साना तथा ठुला सवारीसाधन पार्किङका लागि अनिवार्य लैजाने निर्णय गरेका छन् । 

मध्यपहाडी लोकमार्गले छोएको सदरमुकाममा सवारी साधनको चाप भए पनि मनपरी पार्किङ गरिँदै आएको थियो । बजारभित्रै जथाभावी पार्किङ गरिँदा दुर्घटनाको जोखिमसँगै बजार समेत कुरुप बनेको थियो ।

आजैबाट लागू हुनेगरी सडक आसपास र बजार क्षेत्रमा सवारी साधन पार्किङ गरे कारबाही हुने खोटाङका प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाहले बताएका छन् ।


Image

उत्तम चौलागाईं

चौलागाईं कान्तिपुर टेलिभिजनका खोटाङ संवाददाता हुन् ।