मुगुको सोरु गाउँपालिकाको केन्द्र निर्धारणमा अझै अन्योल

माघ २१, २०८० |राजबहादुर शाही
मुगुको सोरु गाउँपालिकाको केन्द्र निर्धारणमा अझै अन्योल

मुगु । नेपालका ७ सय ५३ वटा स्थानीय तह मध्ये मुगुको सोरु गाउँपालिकाले अझै केन्द्र निर्धारण गर्न नसक्दा अन्योलमा छ । सोरु गाउँपालिकाका ६ वटा वडाका जनप्रतिनिधिले जिमा कुलाहाँ र ५ वटा वडाका जनप्रतिनिधिले सोरुकोटमा केन्द्र हुनु पर्ने मागसहित विवादले गर्दा अन्योलको स्थिति उत्पन्न भएको हो ।

स्थानीय तह सञ्चालन भएको साढे ६ वर्षसम्म पनि पालिकाको केन्द्र निर्धारण नहुँदा भौतिक संरचना निर्माणमा ढिलाइ भएको छ । मुगुका चारवटा स्थानीय तहमध्ये छायानाथ रारा नगरपालिका, खत्याड र मुगुम कार्मारोङ गाउँपालिकाले पहिलो कार्यकालमै केन्द्र निर्धारण गरी भौतिक पूर्वाधार निर्माण गरिसकेका छन् भने सोरु गाउँपालिकाको केन्द्र निर्धारण नहुँदा जग्गा खरिददेखि पूर्वाधार निर्माणका सबै काममा बाधा परेको छ ।

पालिकाको पहिलो ५ वर्षे कार्यकाल सोरुकोटमा रहेको वन डिपोको जीर्ण भवनमा बित्यो भने गत वर्षदेखि सोरुकोटमै एक गैर सरकारी संस्थाले दुई तले भवन बनाई दिएपछि उक्त भवनमा पालिकाको कार्यालय स्थापना गरी कामकाज गर्ने गरिएको छ ।

हरेक वर्षको हिउँदे र बर्खे बजेट गाउँ सभामा पालिकाको केन्द्र निर्धारणको लागि जनप्रतिनिधिले कुरा उठान गर्ने र अन्तिममा कुनै टुंगोमा नपुग्ने गरेका छन् ।


Image

राजबहादुर शाही

शाही कान्तिपुर टेलिभिजनका मुगु संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement