नेपालमा भ्रष्टाचार: अंकमा सुधार, अवस्था कमजोर

व्यापक भ्रष्टाचार हुने मुलुकको सूचीमा नेपाल, १०० मा ३५ अंक पायो
गत वर्षभन्दा एक अंक सुधार भए पनि नेपाल भ्रष्टाचार व्याप्त मुलुककै सूचीमा
कमजोर न्याय प्रणाली र नेताहरुले न्यायको अवमूल्यन गर्दा दण्डहीनता बढ्यो
माघ १६, २०८० |कान्तिपुर टीभी संवाददाता
नेपालमा भ्रष्टाचार: अंकमा सुधार, अवस्था कमजोर

काठमाडौं । नेपाल यस वर्ष पनि भ्रष्टाचार व्याप्त हुने मुलुककै सूचीमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले आज सार्वजनिक गरेको सन् २०२३ को भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) का अनुसार गत वर्षभन्दा यस वर्ष केही सुधार भए पनि नेपाल व्यापक भ्रष्टाचार हुने मुलुकमै परेको हो ।

भ्रष्टाचार अवधारणा सूचकांकमा नेपाललाई एक सयमा ३५ अंक दिइएको छ । १८० मुलुकमध्ये नेपाल १०८औं स्थान छ । सीपीआई २०२२ मा नेपाल ३४ अंकसहित ११०औं स्थानमा थियो । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको प्रतिवेदनअनुसार नेपालको सुशासनको अवस्था नाजुक देखिएको हो ।

प्रतिवेदन सार्वजनिक गर्दै ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालकी अध्यक्ष पद्मिनी प्रधानांगले सरकार भ्रष्टाचार नियन्त्रण गर्न असफल रहेको बताइन् । उनले कमजोर न्याय प्रणाली र निरंकुश हुन नेताहरुले न्यायलाई अवमूल्यन गरेकोलगायत कारण दण्डहीनता बढेको दाबी गरिन् ।

सूचकांकमा डेनमार्क ९० अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक र सोमालिया ११ अंकसहित सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा सूचीकृत भएका छन् । सूचकांकअनुसार एक सय अंकले अति स्वच्छ र शून्य अंकले अति भ्रष्ट भन्ने जनाउँछ । ५० भन्दा कम अंक प्राप्त गर्ने मुलुकलाई भ्रष्टाचार व्याप्त मुलुकका रुपमा चिनिन्छ । विश्वका दुईतिहाइभन्दा बढी मुलुकले ५० भन्दा कम अंक पाएका छन् ।

एसिया प्रशान्त क्षेत्रको औसत स्कोर ४५ छ । सीपीआई २०२३ मा दक्षिण एसियाली राष्ट्रमध्ये भुटानले ६८ अंक, भारतले ३९, माल्दिभ्सले ३९, श्रीलंकाले ३४, पाकिस्तानले २९ अंक पाएका छन् । यस्तै बंगलादेशले २४ र अफगानिस्तानले २० अंक प्राप्त गरेका छन् । छिमेकी मुलुक चीनले ४२ अंक पाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.