फर्जी कागजात बनाई कोशीका मन्त्री लीलाबल्लभ अधिकारीसँगै जापान जानेहरु को हुन् ?

कार्तिक २१, २०८१ |रमेश धमला
फर्जी कागजात बनाई कोशीका मन्त्री लीलाबल्लभ अधिकारीसँगै जापान जानेहरु को हुन् ?

काठमाडौं । शंकास्पद व्यक्तिलाई सँगै लिएर जापान पुगेपछि विवादमा परेका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीसमेत अनुसन्धानको दायरामा तानिने देखिएको छ । विवादमा परेपछि राजीनामा दिएका मन्त्री अधिकारीले आफू मानव तस्करको फन्दामा परेको जनाए पनि उहाँसँग ती शंकास्पद व्यक्तिहरु फर्जी कागजात बनाएर कसरी सँगै जापान गए भन्ने प्रश्न उठेको छ । 

मन्त्री अधिकारीले जापानमा पुगेर पूर्वनिर्धारित कार्यक्रममा सहभागी नभई आफू फर्किएको बताए पनि उहाँलाई जापानको अध्यागमन कार्यालयले विमानस्थलबाटै फर्काइदिएको थियो ।

संघीय सरकार र प्रदेशका मुख्यमन्त्रीलाई समेत जानकारी नगराई मन्त्री अधिकारी एउटा कार्यक्रममा सहभागी हुने भन्दै जापान जानुभएको थियो । मन्त्रीसँगै फर्जी कागजात बनाएर तीन जना जापान गएको पाइएको छ । कात्तिक १३ गते जापान हिँडेका मन्त्री अधिकारीसँग तीन जना व्यक्ति थिए । 

तर, जापानको अध्यागमन कार्यालयले मन्त्रीसहित चारै जना शंकास्पद देखिएको भन्दै फर्काइदिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले समेत मन्त्री अधिकारी जापानको विमानस्थलबाटै फर्किएको जनाएको छ । 

मन्त्रीसँगै फिर्ता भएका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । खोटाङ ऐँसेलुखर्कको वडा सदस्य परिचयपत्र बोकेका दावा शेर्पा, खोटाङ कोपिलास गाउँपालिका-२ का जनक राई र रसुवा कालिकाका कन्चन देवकोटालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको हो । राई र देवकोटासँग कोशी प्रदेश आन्तरिक मामिला मन्त्रालयको सहायक पदको परिचयपत्र बरामद भएको छ । मन्त्रीसँगै गएका तिनै जनाले १५ दिनको भिजिट भिसा लिएको खुलेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुले दिएको बयानका आधारमा अन्य थप तीन जनालाई पनि पक्राउ गरेको छ । मन्त्री अधिकारीसँगै जानेहरुका लागि नक्कली परिचयपत्र बनाइदिएको आरोपमा दोलखाको जिरीका वीरबहादुर सुनुवार, नुवाकोट बिदुरका जुगल रिजाल र धादिङ त्रिपुरासुन्दरीका महेशविक्रम पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरी स्रोतका अनुसार अन्य केही फरार छन् । मन्त्री अधिकारीले भने आफूलाई मानव तस्करको सञ्जालले फसाएको दाबी गर्नुभएको छ ।

फिर्ता गरिएका तीन जना र काठमाडौंमा नक्कली परिचयपत्र बनाउने थप तीन पक्राउ परेपछि उनीहरुलाई कसले मन्त्रीको सम्पर्कमा पुर्‍याए भन्ने थप अनुसन्धानको विषय बनेको छ ।

त्यति मात्र नभएर प्रदेशको आन्तरिक मामिलामन्त्री नै जापान अध्यागमन कार्यालयको शंकाको घेरामा परेर फिर्ता गरिएपछि देशको प्रतिष्ठामा नराम्रो धक्का पुगेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले यस घटनामाथि अनुसन्धान गर्ने भएको छ ।


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।