मोरङ । नेकपा एमालेका सांसद एवं सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल र उहाँकी श्रीमती जोडिएको धनपालथान गाउँपालिका वडा नम्बर -४ मा रहेको श्री उमागौरी कृषि सहकारी संस्थाको ठगी प्रकरणमा १० जनाविरुद्ध पक्राउपुर्जी जारी भएको छ ।
मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले सहकारीको बचत अपचलन मुद्दा दर्ता गरिसकेको बताउँदै १० जनाको नाममा पक्राउ पुर्जी जारी गरेको जानकारी दिनुभयो ।
सार्वजनिक लेखा समितिका सभापति पोखरेलकी पत्नी अञ्जला कोइरालाको नाम जोडिएको उमागौरी कृषि सहकारी संस्थामा प्रहरीले छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको थियो । सर्वाधारणको बचत तथा ऋण अपचलन गरेपछि सहकारीको कार्यालय बन्द थियो ।
सञ्चालकलाई कार्यालय खोल्न आग्रह गर्दा असहयोग गरेपछि प्रहरीले गत कात्तिक १४ गते सटरको ताला फुटाएर कागजात जफत गरेको थियो । मोरङ प्रहरीले कोशी प्रदेश सहकारी रजिष्ट्रार कार्यालय सुनसरी इनरुवाका कर्मचारीसहितको संलग्नतामा छापा मारेर अनुसन्धानका लागि कागजपत्र नियन्त्रणमा लिएको जनाएको छ ।
सहकारीका सञ्चालक कार्यालय बन्द गरेर हिँडेपछि कोशी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयले उमागौरी कृषि सहकारीको विषय अनुसन्धान गर्न प्रहरीलाई पत्राचार गरेको थियो ।
सहकारी ठगी प्रकरणमा लेखा समिति सभापति पोखरेलकी पत्नी अञ्जला कोइरालाले सहकारी संकटमा परेपछि २०७८ माघ ५ गते सहकारीबाट राजीनामा दिनु भएको थियो ।
उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियार ऋषिकेश पोखरेल निकट व्यक्ति मानिन्छन् । सहकारी सञ्चालन गर्ने भएपछि ऋषिकेश पोखरेलले आफ्नो नाम राख्न नमिल्ने भएका कारण त्यसबेला श्रीमतीको नाम राखिएको स्थानीयको भनाइ छ । पोखरेलको सल्लाहमा सहकारी सञ्चालन गरेका रौनियारलाई अन्य बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने वातावरण पोखरेलले नै मिलाइदिएको आरोप छ ।
सहकारी रजिस्ट्रारको कार्यालयले प्रहरीलाई पठाएको पत्रमा सांसद पोखरेलकी पत्नी अञ्जलाको नाम छैन । वर्तमान सञ्चालक समितिको नाम मात्रै समावेश गरेर रजिस्ट्रारको कार्यालयले अनुसन्धानका लागि प्रहरीलाई पत्र पठाएको हो ।
२०६८ सालमा स्थापना भएको यो सहकारीमा सांसद पत्नी कोइराला दुई कार्यकाल सञ्चालक हुनुहुन्थ्यो । सांसद पत्नी अञ्जला सञ्चालक रहेको कागजात पनि रजिस्ट्रार कार्यालयबाट गायव गरिएको आशंका छ ।
सहकारीबाट राजीनामा दिए पनि अञ्जला सञ्चालक रहेको समयमा आरएसडीसी लघुवित्त वित्तीय संस्थाबाट लिएको ऋण नतिरेका कारण लघुवित्तले अञ्जलासहित अन्य सञ्चालकलाई कालोसूचीमा राखेको थियो । कालोसूची विरुद्ध कोइरालाले उच्च अदालत विराटनगरमा रिट दायर गर्नु भएको थियो । उहाँको रिट अदालतमा विचाराधीन छ ।
उमागौरीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण लिएको देखिन्छ । सहकारीले फिर्ता गर्नुपर्ने बचत २ करोड ३ लाख ५४ हजार १ सय ५६ रुपैयाँ छ । १८ करोड ४९ लाख कुल पुँजी रहेको वासलातमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको देखाइएको छ ।
यो पनि...
मोरङको उमागौरी कृषि सहकारीद्वारा सर्वसाधारणको १२ करोड रुपैयाँ हिनामिना
मोरङमा सहकारी ठगीको अनौठो शैली, लेखा समिति सभापति ऋषिकेश पोखरेल दम्पत्ती पनि मुछिए