शंकास्पद व्यक्तिसहित जापान पुगेका कोशीका मन्त्री लीलाबल्लभ अधिकारीको राजीनामा, मानव तस्करीमा अनुसन्धान

कार्तिक २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
शंकास्पद व्यक्तिसहित जापान पुगेका कोशीका मन्त्री लीलाबल्लभ अधिकारीको राजीनामा, मानव तस्करीमा अनुसन्धान

विराटनगर । शंकास्पद व्यक्तिलाई सँगै लिएर जापान पुगेपछि विवादमा परेका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिनुभएको छ । अधिकारीको जापान भ्रमणसमेत शंकास्पद देखिएको छ । मन्त्री अधिकारीले जापानमा पुगेर पूर्वनिर्धारित कार्यक्रममा सहभागी नभई आफू फर्किएको बताए पनि उहाँलाई जापानको अध्यागमन कार्यालयले विमानस्थलबाटै फर्काइदिएको स्रोतको दाबी छ ।

संघीय सरकार र प्रदेशका मुख्यमन्त्रीलाई समेत जानकारी नगराई मन्त्री अधिकारी एउटा कार्यक्रममा सहभागी हुने भन्दै जापान जानुभएको थियो । मन्त्रीसँगै फर्जी कागजात बनाएर दुई जना जापान गएको पाइएको छ । 

कात्तिक १३ गते जापान हिँडेका मन्त्री अधिकारीसँग दुई जना व्यक्ति थिए । तर, जापानको विमानस्थलमा पुगेपछि त्यहाँको अध्यागमन कार्यालयले मन्त्री र ती दुई व्यक्तिलाई शंकास्पद देखिएपछि विमानस्थलबाटै फर्काइदिएको हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले समेत मन्त्री अधिकारी जापानको विमानस्थलबाटै फर्किएको जनाएको छ । तर, मन्त्री अधिकारीले आफूसँग गएका दुवै जनालाई नचिनेको दाबी गर्नुभएको छ । आफू मानव तस्करको फन्दामा परेको शंका लागेपछि निर्धारित कार्यक्रममा सहभागी नभई फर्किएको र आफ्नो भ्रमणका विषयमा नकारात्मक टीकाटिप्पणी भएपछि राजीनामा दिएको उहाँको तर्क छ ।

मन्त्री अधिकारीले आफूसँग गएका दुई जनालाई हङकङमा मात्र भेटेको दाबी पनि गर्नुभएको छ । उनीहरुलाई आफूले सँगै नेपाल लिएर आएको र अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएकाले सत्यतथ्य छिट्टै बाहिर आउने उहाँको भनाइ छ ।

मन्त्री अधिकारी कात्तिक १३ गते जापान गएर १७ गते स्वदेश फर्किनु भएको थियो । तिहारको बिदा परेका कारण प्रदेश सरकार र संघीय सरकारसँग अनुमति लिन नभ्याएको उहाँको भनाइ छ ।

मन्त्रीको शंकास्पद भ्रमणलाई लिएर सार्वजनिक रुपमा टीकाटिप्पणी भएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बोलाएर सोधखोज गर्नुभएको थियो । त्यस क्रममा मन्त्री अधिकारीले आफू दलालको फन्दामा परेको स्वीकारेपछि मार्ग प्रसस्त गर्न मुख्यमन्त्रीले निर्देशन दिनुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.