सिरहामा जेलभित्रै मदिरा र लागुऔषधको निर्वाध प्रयोग, पैसा तिरेर घुम्न निस्कन्छन् कैदी

कारागार प्रशासन र सुरक्षा निकायको भूमिकामाथि नै प्रश्न
कार्तिक २१, २०८१ |विनय आजाद
सिरहामा जेलभित्रै मदिरा र लागुऔषधको निर्वाध प्रयोग, पैसा तिरेर घुम्न निस्कन्छन् कैदी

सिरहा । कारागार भन्नेबित्तिकै कुनै अपराधमा संलग्न व्यक्तिलाई समुदायबाट अलग गरी सजाय दिलाउन राखिने ठाउँ हो । जहाँ बाहिरी संसारभन्दा पर थुनिएर अनि सबै इच्छा आकांक्षा मारेर एउटा निश्चित घेराभित्र बस्नुपर्छ । तर, सिरहा कारागारमा भने पैसा तिरे सबैकुरा गर्न पाइने तथ्य बाहिरिएको छ । 

यो कारागारभित्रै कैदीबन्दीले निस्फिक्री मदिरापान गर्ने गरेको प्रमाण नै कान्तिपुरले फेला पारेको छ । यहाँ लागु औषध प्रयोग हुने, पैसा तिरेर जेल बाहिर घुम्न पाइने अनि विभिन्न नाममा मासिक लाखौं रुपैयाँ उठाइने गरेको रहस्य पनि सार्वजनिक भएको छ ।

तपाईंलाई आश्चर्य लाग्ला । तर, सिरहा कारगारमा दुई जना व्यक्ति मदिरा खाँदै गरेको र मोबाइल चलाउँदै गरेको भेटिएको छ । उनीहरु धनुषाका विजय महतो र सिरहाका इन्द्रजित यादव हुन् । कर्तव्य ज्यान मुद्दामा २५ वर्ष जेल सजाय सुनाइएका उनीहरुमध्ये विजय कारागारका मूल नाइके हुन् ।

अहिले कारागारको आन्तरिक प्रशासन चलाइरहेका उनैलाई कारागारको चौकीदार बनाउने तयारी पनि सरकारी निकायको छ । इन्द्रजित भने नाइके हुन् । कानुन अनुसार सामान्य खाने कुराबाहेक जेलभित्र अन्य चिज निषेध छ । तर, कान्तिपुरले फेला पारेको भिडियो र फोटोले सिरहा कारागारभित्र कतिसम्म गलत धन्दा चलिरहेको छ भन्ने कुरा उदांगो भएको छ । पूर्वकैदीहरुका अनुसार, यहाँका लागि मदिरा र मोबाइल त सामान्य कुरा हो, यहाँ हरेक किसिमका लागु औषध तथा बाहिर पाइने सबै कुरा उपलब्ध हुन्छ ।

कारागारभित्रै एउटा पसल छ, त्यसमा सामान्य खानेकुरा दुई गुणासम्ममा पाइने गरेको भए पनि प्रतिबन्धित मदिरा तथा लागुऔषधलगायतका चिजहरु भने पाँच गुणासम्ममा पाइने गरेको स्रोतको दाबी छ । यतिसम्म कि कारागारमा घरबाट पकाएर लगिएको केही खाने कुराबाहेक बाँकी सबै चिज महँगोमा भए पनि यसै पसलमा किन्नुपर्छ ।

यदि कसैले बाहिरका पसलबाट कुनै चिज मगाए र यो कुरा चौकीदार वा नाइकेहरुले थाहा पाए उनीहरुले ती कैदीलाई अनेक पीडा दिन्छन् । यति मात्र होइन, चौकीदारका निकट वा पहुँच भएका कैदी मन लागेका बेला खासगरी रातिको समयमा पैसा तिरेर बाहिर निस्कन र भित्र छिर्न मिल्छ । स्रोतले बताएअनुसार, यसका लागि निकटता र पहुँचका आधारमा पैसा तिर्नुपर्छ ।

सिरहा कारागारमा अहिले महिला र पुरुष गरी जम्मा ५ सय १६ जना कैदीबन्दी छन् । कारागार कार्यालय सिरहाका अनुसार कारागारमा अहिले १९ नाइके र ६२ जना सहनाइके नै छन् । उनीहरुलाई कारागारको आन्तरिक प्रशासनको नेतृत्व गर्ने व्यक्तिले जिम्मेवारी दिएका हुन्छन् । खासगरी कारागारभित्र हुने सबै खाले गलत कुरा बाहिर लिक हुन नदिन कैदीमाथि निगरानी राख्ने उनीहरुको काम हुन्छ ।

यसरी कारागारमा मदिरा, लागुऔषध, खानेकुरालगायतका चिज बेचेर, फोनका नाममा कैदीबाट मनलाग्दी असुलेर महिनाकै बिस लाख बढी उठ्ने गरेको र यसबाट जिल्लाका प्रहरी प्रशासनका हाकिमसहित कारागार व्यवस्थापन विभागका प्रमुखसम्मले महिनावारी पैसा खाने गरेको पूर्वकैदीहरुको दाबी छ ।

तर, सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल भने आफूले पटकपटक अनुगमन गरे पनि यस्तो गुनासो नआएको र मदिराका विषयमा प्रमाण आए कारबाही गर्ने दाबी गर्नुभयो । कारागारको सुरक्षामा नेपाल प्रहरीका प्रहरी नायब निरीक्षकको कमाण्डमा २५ जना सुरक्षाकर्मी खटिएका हुन्छन् । 

जिल्ला प्रशासन कार्यालय र कारागार कार्यालय सिरहाले पनि यसमाथि प्रत्यक्ष निगरानी राख्छ । तर, यसका बाबजुद कारागारभित्र यतिसम्म हुनुले उनीहरुको भूमिकामाथि नै अनेक आशंका र प्रश्न उब्जाएको छ । सरोकारवालाले यसको छानबिन गर्न ढिला गर्नुहुँदैन ।


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement