बिहे गरेको २ महिनामै श्रीमतीको हत्या

माघ ८, २०८० |सरिता चलाउने
बिहे गरेको २ महिनामै श्रीमतीको हत्या

सल्यान । सल्यानमा विवाह गरेको दुई महिना नबित्दै एक जनाले श्रीमतीको हत्या गरेका छन् ।

सल्यानको छत्रेश्वरी गाउँपालिका ५, लेखपोखराको ढाकुडाँडाका २२ वर्षीय मोहन पुनले २० वर्षीया श्रीमती सीमा कवरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । थप अनुसन्धानका लागि मोहनलाई प्रहरीले पक्राउ गरेको छ ।

पुनले गत मंसिर १० गते मात्र सीमालाई भगाएर बिहे गरेका थिए । तर सोमबार दिउँसो उनको घरभित्रै सीमाको शव भेटिएको थियो । स्थानीय बासिन्दाले खबर गरेपछि घटनास्थल पुगेको प्रहरीले शंकास्पद देखिएपछि मोहनलाई पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले जानकारी दिए । उनका अनुसार मृतक युवतीको शरीरमा नीलडाम छन् । उनको नाम सीमा कवर भनिए पनि अहिलेसम्म बास्तविक नामसमेत खुलेको छैन ।

वडाध्यक्ष फौदबहादुर बस्नेतले भने आइतबार राति कुटपिट गरेर मोहनले सीमाको घरमै हत्या गरेको देखिएको जनाए । ‘मृतकको शरीरभरि नीलडाम छन् । प्रहरीले सोधपुछ गर्दा मोहनले प्रारम्भिक बयानमा आफूले श्रीमतीको हत्या गरेको स्वीकारेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Image

सरिता चलाउने

चलाउने कान्तिपुर टेलिभिजन सल्यान संवाददाता हुन् ।