उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाल निर्माण व्यवसायी महासंघको आन्दोलनको औचित्य नरहेको बताउनुभएको छ । कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम फायरसाइडमा कुरा गर्दै अर्थमन्त्री पौडेलले विधिसम्मत् रूपमा दाबी गरिएका बिलको भुक्तानी नरोकिएको बताउनुभयो ।
३५ अर्बभन्दा बढी रकमको भुक्तानी नपाएको भन्दै महासंघले आन्दोलन गरिरहँदा उहाँले सरकारले निर्माण व्यवसायीको भुक्तानी दायित्व पूरा गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।
सरकारले गत वर्षको भुक्तानीसमेत नदिएको भन्दै निर्माण व्यवसायी महासंघ आन्दोलनमा छ । महासंघले भुक्तानीका लागि भोलिसम्मको अल्टिमेटम दिएको छ । कान्तिपुर समाचारसँग कुरा गर्दै महासंघका अध्यक्ष रवि सिंहले सरकारले बहुवर्षीय आयोजनाको नाममा ६० लाख बजेट विनियोजन गरेर ४६ करोडको योजनाको टेन्डर गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताउनुभयो । स्रोत सुनिश्चितता गरेको तर स्रोत व्यवस्थापन नगरेको साढे ६ खर्बका योजनामा समेत सरकारले निकास दिनुपर्ने उहाँको माग छ ।
अर्थमन्त्री पौडेलले सरकारले ल्याएका अध्यादेशको बचाउ गर्दै संसद्को आउँदो अधिवेशनको पहिलो बैठकमै प्रतिस्थापक विधेयक टेबुल गर्ने बताउनुभयो । सरकार संविधानसम्मत रूपमा अघि बढेको र कानुनमा तत्काल सुधार नगरी अर्थतन्त्रमा सुधार नआउने भएकाले अध्यादेश ल्याउनुपरेको उहाँको भनाइ थियो ।
कार्यक्रममा अर्थमन्त्री पौडेलसँग सरकारको कार्यसम्पादन क्षमता, प्रधानमन्त्री केपी ओलीको नेतृत्व, नेपाली कांग्रेससँगको गठबन्धन लगायतका विषयमा पनि संवाद गरिएको छ ।
अर्थमन्त्री पौडेलसँगको पूरा अन्तर्वार्ता कार्यक्रम फायरसाइडमा आज राति ९ बजे कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ । साथै कान्तिपुर टेलिभिजनको युट्युब च्यानल र कान्तिपुर टिभी एपसहितका डिजिटल प्लेटफर्ममा पनि हेर्न सकिनेछ ।